निषेधाज्ञा अवधिभर लिलामी गर्न र जरिवाना लिन नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।

मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभरको जरिवाना लिन नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकको निर्देशन छ ।

संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।


SHARE THIS