कारोबार र परिसूचकमा नेप्सेको नयाँ रेकर्ड, परिसूचक ५४ अंकले उछालिएर २७३८ को विन्दुमा

काठमाडौं । जेठ महिनालाई स्वागत गर्दै पहिलो कारोबार दिनमै सेयर बजार ५४ अंकले उछालिएर २७३८ को विन्दुमा पुगेको छ । परिसूचकलाई साथ दिंदै यस दिनको कारोबार रकमले साढे १० अर्ब पछ्याएको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा ५४.२१ अंकले सुधार आउँदा नेप्से २७३८.२९ को बिन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.६४ अंकले उकालो लागेर ४८८.१४ को बिन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्सेमा २.०२ प्रतिशत र सेन्सेटिभ इन्डेक्समा १.८० प्रतिशतले सुधार आएको छ ।

पहिलो दिन कारोबार रकममा पनि उत्साह देखिएको छ । लामो समयदेखि सात अर्बभन्दा थोरै कारोबार भइरहेको बजारमा आइतबार सोभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । पहिलो दिन २१४ वटा कम्पनीको दुई करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम पनि झण्डै रेकर्ड नजिक पुगेको छ ।

लगानीकर्ताले शुरुदेखि नै खरिद चाप बढाउँदा कारोबार रकममा पनि उत्साह देखिएको हो । आइतबार ८५ करोड २० लाख रुपियाँ बराबरको सेयर कारोबार भएर दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा  धेरै सेयर कारोबार गर्नेमध्येको अग्रपँक्तिमा परेको छ भने एनसीसी बैंकको ३१ करोड ५७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको २९ करोड जलविद्युत लगानी तथा विकास कम्पनीको २५ करोड र शिखर इन्स्योरेन्सको २३ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

पहिलो दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ४.२८ प्रतिशतलले बढेको छ । यसैगरी विकास बैंक ३.८७, जीवन बीमा ३.०४, अन्य २.१४, लगानी २.०२ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड सबैभन्दा कम ०.२८ प्रतिशतले बढेको बजारमा बैंकिङ्ग, ब्यापार, होटल तथा टुरिजम्, जलविद्युत, वित्त, उत्पादन, र लघुवित्तको सूचक एक प्रतिशतभन्दा धेरै दुई प्रतिशतभन्दा कम बढेका छन् ।

आइतबार कारोबारमा आएका आठ कम्पनीकको सेयर सर्किट लेभलमा कारोबार भएका छन् । रुरु जलविद्युतको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ९.९० प्रतिशतले बढेको छ ।

केही हाइड्रोपावर कम्पनीहरुको सेयरमूल्य भने उच्च दरले घटेको छ । यस दिन युनियन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ भने आँखुखोला हाइड्रोपावरको सेयरमूल्य ३.९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.७७ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चरको ३.४२ प्रतिशतले घटेको छ ।


SHARE THIS