अनुमानित आर्थिक बृद्धि हासिल गर्न चुनौतिपूर्णः राष्ट्र बैंक

काठमाडौं । अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहेका बेला कोरोना संक्रमण ह्वात्तै बढेपछि अनुमानित आर्थिक बृद्धि  हासिल गर्न चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकले नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएतापनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित चार प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण हुने जनाएको छ ।

पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेतापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि हुन थालेको, भारतको मूल्य बृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपियाँ अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति रहेको राष्ट्र बैंकले जनाएको छ । आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्र रहने राष्ट्र बैंकले जनाएको छ ।

कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ क्षेत्रले व्यवस्थापन गर्न सकेकोमा कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ क्षेत्रपनि प्रभावित हुने सम्भावना राष्ट्र बैंकले देखाएको  छ । पछिल्ला महिनाहरुमा बैकिङ क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिको भन्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुको लक्ष्य भन्दा बढी नै कर्जा विस्तार हुने देखिएको जनाएको छ ।


SHARE THIS