नवनियुक्त डेपुटी गभर्नरद्वारा पदबहाली

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले बुधबार पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । साथै शपथग्रहण लगत्तै उहाँहरूले पदबहाली समेत गर्नुभएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उहाँहरुलाई शपथग्रहण गराउनुभएको हो ।

नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ फागुन २५ गतेको निर्णय अनुसार उहाँहरू डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएको हो ।

शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यको क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुबै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त हुनुभएकोमा प्रशन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।

डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ती भएकोमा खुशी व्यक्त गर्नुभयो । दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्था अनुसार उहाँहरू नियुक्त भएको उल्लेख गर्दै गर्भनर अधिकारीले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

आफु कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने कुरा बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नरद्वय तिम्सिना र मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गर्नुभएकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुहुँदै आफूमा खुशी तथा जिम्मेवारीबोध एकैपटक आएको बताउनुभयो । संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँहरूले उहाँहरूले पहिले जस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा वरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले स्वागत मन्तव्य राख्दै यथासमयमै डेपुटी गभर्नर नियुक्त भएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका कार्यवाहक अध्यक्ष राजनप्रसाद रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशम बल्छौडीले नव नियुक्त डेपुटी गभर्नरहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।


SHARE THIS