फैलँदो सेयर बजार : सक्रिय लगानीकर्ता छ लाख नजिक, अनलाइन प्रयोगकर्ता साढे चार लाख

काठमाडौं । पछिल्लो १२ दिनमा करिब ७० हजार अनलाईन प्रयोगकर्ता बढेका छन् । यो अवधिमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १२ दिनमा करिब ७० हजार अनलाईन प्रयोगकर्ता बढेको विवरण सार्वजनिक गरेको हो । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १२ दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको हो ।

कोरोना संक्रमणयता बढ्दो क्रममा रहेका लगानीकर्ताको संख्याले बजारको आकार र माहौल दुबै बढाएको छ । हालसम्ममा  बजारमा  सक्रिय  लगानीकर्ताको संख्या नै छ लाख नजिक पुगिसकेको नेप्सेले जनाएको छ ।

फागुन ९ गतेसम्म तीन लाख ७६ हजार २६१ अनलाइन प्रयोगकर्ता रहेकोमा फागुन २० गते चार लाख ४५ हजार ५३५ पुगेको यस अवधिमा मात्रै अनलाइन कारोबारको लागि युजर र पसवर्ड लिनेको संख्या १८.३६ प्रतिशतले बढको हो ।

सगरमाथा सेक्युरिटीजको अनलाइन प्रयोगकर्ता सबैभन्दा धेरै ३१.३७ प्रतिशत बढेको छ । यस अघि ५९३ रहेको अनलाइन प्रयोगकर्ता बढेर ७७९ पुगेका छन् ।

अनलाइन कारोबारको लागि सबैभन्दा धेरै युजर र पासवर्ड वितरण गर्नेमा भने नासा सेक्युरिटीज रहेको छ । फागुन ९ गते सम्ममा नासाले ३६ हजार ३२७ जनालाई अनलाइन कारोबारको लागि युजर र आईडी वितरण गरेको नेप्सेको तथ्याङ्क छ । पछिल्लो १२ दिनमा नासाबाट अनलाइन युजर र पासवर्ड लिनेको संख्या १५.३५ प्रतिशतले बढेर ४१ हजार ९०२ पुगको छ ।

सक्रिय क्लाइन्ट बढाउनेमा पनि नासा सेक्युरिटीज नै रहेको छन् । यस अवधिमा नासाको सक्रिय क्लाइन्ट १२ प्रतिशतले बढेर ३१ हजार १८४ पुगेको छ ।

दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या पनि ६ लाख नजिक पुगेको छ। नेप्सेले सार्वजनिक तथ्याङ्क अनुसार हाल सक्रिय लगानीकर्ताहरुको संख्या पाँच लाख ९४ हजार ८७९ पुगेको छ । पछिल्लो १२ दिनमा सक्रिय लगानीकर्ताको संख्या भने ८.०८ प्रतिशत अर्थात ४४ हजार ७४० जना बढेका छन् ।

सबैभन्दा धेरै सक्रिय क्लाइन्ट पनि नासा सेक्युरिटीजमै रहेका छन् । नाशाको ३१ हजार १८४ सक्रिय क्लाइन्ट रहेका छन् । यस्तै दिपशिखाको ३० हजार ९०५, इम्पेरियल सक्युरिटीजको २५ हजार २१४, सनी सेक्युरिटीज २४ हजार ११३, मिदास स्टकको २१ हजार ४८४, अनलाईन सेक्युरिटिजको २० हजार ३८५ क्लाइन्टहरु छन् ।

सबैभन्दा कम क्लाइन्ट भने सगरमाथा सेक्युरिटिजको रहेको छ । सगरमाथा ७७९ अनलाईन क्लायन्ट र चार हजार २० सक्रिय क्लाइन्ट रहेका छन् ।

छ महिनामा पँुजीकरण ३०७९ अर्ब ९४ करोड रुपियाँ

आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा धितोपत्र बजार पँुजीकरण ३०७९ अर्ब ९४ करोड रुपियाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कमा आधारित विवरण अनुसार २०७६ पुस मसान्तमा १२६३.४ रहेको नेप्से सूचकाङ्क २०७७ पुस मसान्तमा २२८६.६ पुगेको थियो । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.३०७९ अर्ब ९४ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

गत पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार÷चार होटल तथा व्यापारीक संस्था र छ अन्य समूहका रहेका छन् ।

गत असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.७ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत पाँच अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.५२५ अर्ब ७९ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को छ महिनासम्ममा रु.एक खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु.१३ अर्ब ८३ करोड बराबरको साधारण शेयर, रु.सात अर्ब २६ करोड बराबरको बोनस शेयर, रु.सात अर्ब बराबरको डिबेन्चर रु.दुई अर्ब ५० करोड बराबरको हकप्रद शेयर र रु.६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.एक खर्ब ८१ अर्ब २५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१० अर्ब ४६ करोड बराबरको साधारण शेयर, रु.छ अर्ब ६४ करोड बराबरको डिबेन्चर, रु.एक अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र रु.एक अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।



SHARE THIS