सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण,बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग गरिँदै

काठमाडौं । पूर्वाधार क्षेत्रको विकासका लागि प्रदेश नं. १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्राधिकरण र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजना पहिचान र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग गरिने भएको छ ।

बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गरिने सम्झौता पत्रमा उल्लेख छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा प्रदेश नं. १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभयो ।

सोही कार्यक्रममा निर्देशक डा. कोइरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनालाई आवश्यक सहयोग पु-याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं. १ सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकार एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।


SHARE THIS