राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो, जीवन बीमा कोषमा झण्डै ३१ अर्ब ७२ करोड सञ्चित

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन घटेको छ । संस्थानको खुद बीमाशुल्क पनि १ करोड ६ लाख रुपियाँले घटेर पाँच अर्ब ६८ करोड २५ लाख रुपियाँमा सीमित भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थानले पाँच अर्ब ६९ करोड ३१ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

संस्थानले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब १५ करोड ९७ लाख रुपियाँ आम्दानी गरेको छ । यस्तै बीमालेख धितोमा लगानी ४० करोड १ लाख लगानी गरेर ५ करोड ३१ लाख रुपियाँ आम्दानी गरेको छ ।

संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि दुई करोड ६७ लाख ९४ हजार रुपियाँँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८५ लाख ५२ हजार रुपियाँले कम हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले तीन करोड ५३ लाख ४६ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १८ करोड १० लाख रुपियाँ भएको संस्थानको जीवन बीमा कोषमा ३१ अर्ब ७२ करोड नौ लाख रुपियाँ, जगेडा कोषमा ३१ करोड २६ लाख रुपियाँ सञ्चित छ ।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको सरकारी कर्मचारीको बीमा सेवा संस्थानलाई हस्तान्तरण भएकोले तीन अर्ब ४२ करोड पनि बीमा शुल्कमा समावेश छ ।

निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन । पहिले एकै कम्पनी भएपनि राष्ट्रिय बीमा कम्पनी संस्थानबाट छुट्टिएको थियो ।


SHARE THIS