काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले नयाँ मूल्य असार १७ गते राति १२ः०१ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल÷मट्टीतेल तथा एलपी ग्यासको बिक्री मूल्य घटाएको जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ, डिजेल÷मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपियाँ मूल्य घटाइएको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको जनाएको छ । प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन २९ रुपियाँ ४२ पैसाले घटेर आएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको खरिद मूल्यमा पनि कमी आएको बताइएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको बिक्री मूल्य काठमाडौंका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलर ले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

