काठमाडौँ । वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टि, अनुभव र धारणा मापन गर्न …वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३Ú सुरु गरिने भएको छ । देशका ७७ जिल्लाबाट १० हजार ४०४ नमुना सङ्कलन गरी वित्तीय सेवाको पहुँच, गुणस्तर र ग्राहक संरक्षणको अवस्थाबारे अध्ययन गरिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
वित्तीय सेवाप्रति सेवाग्राहीको सन्तुष्टि स्तर मापन तथा वित्तीय सेवा प्रवाहको गुणस्तर मूल्याङ्कन गर्ने उद्देश्यले उक्त सर्वेक्षण सञ्चालन गरिन लागेको हो । सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रतिको उपभोक्ताको धारणा र अनुभवको अध्ययन गरिने जनाइएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजालाई वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिबृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधारका लागि उपयोग गरिने अपेक्षा गरिएको छ ।
सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनमा सहयोग गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ । सर्वेक्षणमा सहभागिता स्वेच्छिक रहने तथा सहभागीहरूले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ ।
संकलित विवरण तथा सूचनाहरू तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य राखिने र केबल सामूहिक तथा तथ्यांकिय प्रयोजनका लागि मात्र प्रयोग गरिने जनाइएको छ ।
वित्तीय ग्राहक, बैङ्क तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षणमा आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरिएको छ ।
