बैङ्कहरूको नाफा ४९ अर्बमाथि, नबिल शीर्षमा, बृद्धिदरमा कुमारी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कहरूको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको बृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको संकेत देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.३० प्रतिशतले बढी हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैङ्कहरूको नाफा बढेको छ भने सात वटा बैङ्कहरूको नाफा घटेको देखिएको छ ।

नबिलको अग्रता कायमै

नाफाका आधारमा नबिल बैङ्कले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैङ्कको नाफा गत वर्षको तुलनामा करिब ३३.९ प्रतिशतले बृद्धि भएको हो ।

त्यसैगरी, ग्लोबल आइएमई बैङ्क चार अर्ब ४० करोड रुपियाँसहित दोस्रो स्थानमा रहँदा कुमारी बैङ्क चार अर्ब १७ करोड रुपियाँसहित तेस्रो स्थानमा रहेको छ ।

बृद्धिदरमा कुमारी

नाफा बृद्धिदरका आधारले कुमारी बैङ्क सबैभन्दा अगाडि देखिएको छ । बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा १३६१.७६ प्रतिशतले बढेको हो । गत वर्ष २८ करोड रुपियाँमा सीमित नाफा यस वर्ष चार अर्ब नाघेको हो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कले पनि १२९.३४ प्रतिशत नाफा बृद्धि गर्दै उल्लेखनीय सुधार गरेको छ ।

घट्ने बैङ्कहरू पनि उल्लेख्य

समीक्षा अवधिमा प्रभु बैङ्कको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (३०.६९ प्रतिशत), कृषि विकास बैङ्क (२४.४२ प्रतिशत) र एनआईसी एशिया बैङ्क (१०.४९ प्रतिशत) को नाफा घटेको देखिएको छ ।

नाफाका आधारमा एनआईसी एशिया बैङ्क करिब १४ करोड रुपियाँमा सीमित रहँदै सबैभन्दा तल देखिएको छ । प्रभु बैङ्क र सिटिजन्स बैङ्कको नाफा पनि तुलनात्मक रूपमा कम रहेको छ ।

समग्रमा बैङ्किङ क्षेत्रमा नाफा बृद्धि देखिए पनि कर्जा विस्तार सुस्त हुनु, माग पक्ष कमजोर रहनु र केही बैङ्कहरूको प्रदर्शनमा गिरावट आउनुले चुनौति अझै बाँकी रहेको देखाउँछ ।

यद्यपि, अधिकांश बैङ्कहरूको नाफामा सुधार देखिनुले बैङ्किङ क्षेत्र क्रमशः ‘रिकभरी’तर्फ उन्मुख रहेको संकेत दिएको छ ।


SHARE THIS