काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा जीवन बीमा कम्पनीहरूले एक खर्ब ४० अर्बभन्दा बढी बीमाशुल्क सङ्कलन गरेका छन । कम्पनीहरुको कुल व्यवसाय ११.३१ प्रतिशतले बढाएका छन् भने नयाँ व्यापार ३० प्रतिशतभन्दा बढीले उछालिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले चैत मसान्तसम्म एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपियाँ कुल बीमाशुल्क सङ्कलन गरेका छन् । सो अवधिमा एक करोड १५ लाखभन्दा बढी बीमा पोलिसी बिक्री भएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार कम्पनीगत रूपमा सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपिैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब सात करोड ९४ लाख रुपियाँ सङ्कलन गरेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले १५ अर्ब १७ करोड आठ लाख रुपियाँ सङ्कलन गरेको छ ।
त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सले १३ अर्ब २६ करोड ६१ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले नौ अर्ब ११ करोड ८३ लाख, सूर्यज्योति लाइफले आठ अर्ब ५५ करोड १५ लाख र एशियन लाइफ इन्स्योरेन्सले सात अर्ब २४ करोड ७० लाख रुपियाँ बीमाशुल्क सङ्कलन गरेको छ ।
यस्तै मध्यम तथा साना कम्पनीहरूमध्ये सिटिजन लाइफले छ अर्ब छ करोड ७१ लाख, सानिमा रिलायन्स लाइफले पाँच अर्ब ४२ करोड ४४ लाख, आइएमई लाइफले चार अर्ब ९५ करोड १३ लाख, मेट लाइफले चार अर्ब ९० करोड ५४ लाख, रिलायबल नेपाल लाइफले चार अर्ब ४४ करोड ९० लाख, प्रभु महालक्ष्मी लाइफले चार अर्ब १९ करोड २२ लाख र सन नेपाल लाइफले तीन अर्ब १७ करोड १९ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ ।
चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले तीन लाख ५५ हजारभन्दा बढी बीमालेख जारी गर्दै १५ अर्ब ७३ करोड रुपियाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।
यस्तै, नयाँ व्यापार (प्रथम बीमाशुल्क) तर्फ कम्पनीहरूले ३१ अर्ब ८७ करोड रुपियाँ सङ्कलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो । नयाँ व्यापारमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ भने बृद्धिदरका आधारमा आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ ।
यस्तै, नविकरण बीमाशुल्कतर्फ करिब नौ प्रतिशत बृद्धि देखिएको छ । विशेषगरी आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ नविकरण व्यवसाय बृद्धिमा अगाडि देखिएका छन् ।
