काठमाडौँ । बीमाशुल्कमा अनधिकृत छुट दिएको र स्वामित्वसम्बन्धी व्यवस्था उल्लंघन गरेको आरोपमा नेपाल बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बजार अनुशासन कायम गर्न भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रुपियाँ र स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रा.लिलाई पाँच हजार रुपियाँ जरिवाना गरेको हो ।
बजार हिस्सा बढाउने प्रतिस्पर्धामा बीमाशुल्कमै छुट दिने प्रवृत्ति देखिन थालेपछि प्राधिकरणले हस्तक्षेप शुरु गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ तथा जारी निर्देशन पालना नगरेको निष्कर्ष निकाल्दै यस्तो कारबाही गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) को व्यवस्था उल्लंघन गरेको पाइएको छ । उक्त व्यवस्थामा बीमालेख जारी गर्दा तोकिएको बीमाशुल्कमा कुनै पनि प्रकारको छुट, डिस्काउन्ट, रिहायत वा सहुलियत दिन नपाइने स्पष्ट उल्लेख छ । तर कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा छुट दिएको भेटिएपछि बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) खण्ड (क) अनुसार पहिलो पटकका लागि दुई लाख रुपियाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय बीमा कम्पनीहरूले बजार हिस्सा बढाउने प्रतिस्पर्धामा कहिलेकाहीँ प्रिमियम दरमा अनधिकृत छुट दिने अभ्यास गर्ने गरेका छन् । यस्तो प्रवृत्तिले अल्पकालीन रूपमा ग्राहक आकर्षित गरे पनि दीर्घकालीन रूपमा बीमा कोषको स्थायित्व र बजार अनुशासनमा असर पर्न सक्ने जोखिम रहने प्राधिकरणले जनाएको छ । जसलाई गम्भीर उल्लंघनका रूपमा लिने गरिएको छ ।
त्यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८ अन्तरगतको स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि कारबाही गरिएको हो । निर्देशिकाको दफा १५ अनुसार प्राधिकरणको स्वीकृतिबिना पुनर्बीमा दलाल कम्पनीको स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्न पाइँदैन । कम्पनीले उक्त प्रावधान उल्लंघन गरेको निष्कर्षसहित बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) खण्ड (क) बमोजिम पाँच हजार रुपियाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय प्राधिकरणले बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा ब्रोकर संस्थामाथि निगरानी कडा बनाएको छ । केही दिनअघि पनि विभिन्न बीमा तथा पुनर्बीमा संस्थालाई नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरिएको थियो ।
विश्लेषकहरूका अनुसार बीमा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा कायम राख्न नियामकीय मापदण्डको कडाइ आवश्यक छ । यदि कम्पनीहरूले अस्वस्थ मूल्य प्रतिस्पर्धा, अनधिकृत छुट वा स्वामित्वसम्बन्धी अपारदर्शी अभ्यास अपनाउने हो भने त्यसले सम्पूर्ण बीमा उद्योगको विश्वसनीयतामाथि नकारात्मक प्रभाव पार्न सक्छ । प्राधिकरणको पछिल्लो कदमलाई बजार अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
