निर्जीवन बीमा बजारमा उछाल, तीन अर्ब कटाउने कम्पनी छ पुगे

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म छ निर्जीवन बीमा कम्पनीले तीन अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क सङ्कलन गर्दै बीमा बजारमा अग्रता लिएका छन् ।

प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको निर्जीवन बीमा क्षेत्रमा मर्जरपछि बजार संरचना र प्रतिस्पर्धाको स्वरूप दुबै परिवर्तन भएको छ ।

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चैत मसान्तसम्म सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ, जसले चार अर्ब ८० करोड रुपियाँभन्दा बढी बीमाशुल्क सङकलन गर्दै बजार नेतृत्व कायम राखेको छ ।

शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सगरमाथा लुम्बिनीले तीन अर्ब ८३ करोड रुपियाँभन्दा बढी बीमाशुल्क सङकलन गरेको छ भने हिमालयन एभरेष्टले तीन अर्ब ७४ करोड रुपियाँभन्दा बढी बीमाशुल्क सङकलन गरेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स ले पनि तीन अर्बको सीमा पार गरेका छन् । सिद्धार्थ प्रिमियरले तीन अर्ब १२ करोड, आईजीआई प्रुडेन्सियलले तीन अर्ब १० करोड र एनएलजी इन्स्योरेन्सले तीन अर्ब एक करोड    रुपियाँभन्दा बढी बीमाशुल्क सङकलन गरेको छ ।

तथ्याङ्क अनुसार निर्जीवन बीमा क्षेत्रमा मर्जरको प्रभाव सकारात्मक रूपमा देखिन थालेको संकेत गरेको छ । देशभर सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको नौ महिनामा कुल ३६ अर्ब २८ करोड रुपियाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय बृद्धि हो ।

समिक्षा अवधिमा २२ लाखभन्दा बढी बीमालेख जारी भएको छ र बीमाप्रतिको पहुँच बढ्दै गएको देखिएको हो ।

कम्पनीहरुको पोलिसी संख्या हेर्दा युनाइटेड अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै तीन लाखभन्दा बढी बीमालेख जारी गरेको छ, तर कुल बीमाशुल्कमा भने शीर्ष स्थानमा पुग्न सकेको छैन ।

मर्जरपछि ठूला कम्पनीहरू बलिया बन्दै जाँदा मध्यम र साना कम्पनीहरू भने तुलनात्मक रूपमा व्यवसायको आकार खुम्चिएको छ । नेको इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र दि ओरिएन्टल इन्स्योरेन्स ले दुई अर्बको हाराहारीमा व्यापार गरेका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी को व्यवसायिक विस्तार अपेक्षाकृत सुस्त देखिएको छ ।

सबैभन्दा कम व्यापार गर्ने नेशनल इन्स्योरेन्सले भने एक अर्बको सीमा समेत पार गर्न सकेको छैन ।

प्राधिकरणको तथ्याङ्क अनुसार समग्रमा निर्जीवन बीमा क्षेत्रमा करिब १३.८६ प्रतिशतको बृद्धिसहित कुल बीमाशुल्क संकलन ३७ अर्बमाथि पुगेको छ ।

बीमाविज्ञ डा. रविन्द्र घिमिरे मर्जरको वास्तविक लाभ अझै पूर्ण रूपमा देखिन बाँकी रहेको बताउनुहुन्छ । धेरै कम्पनीहरू अझै पनि व्यवस्थापन एकीकरण, प्रविधि समायोजन र ब्राण्ड समन्वयको चरणमा रहेको भन्दै उहाँले ठूलो आकारका कम्पनीहरू बढेसँगै नियमन झनै जटिल बन्ने बताउनुभयो ।


SHARE THIS