काठमाडौँ । बैङ्किङ प्रणालीमा पर्याप्त तरलताले कर्जा विस्तार अपेक्षाअनुसार बढ्न नसक्नु, ब्याजदर घट्दो क्रममा हुँदा लगानी गर्न हिच्किचाउँदा देशको समष्टिगत अर्थतन्त्र मिश्रित अवस्थामा देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आठ महिना -२०८२ फागुनसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार देशको समष्टिगत अर्थतन्त्र मिश्रित अवस्थामा रहेको देखिएको छ ।
अर्थतन्त्रमा पैसा अभाव छैन—बैङ्कमा तरलता प्रशस्त छ, विदेशी मुद्रा सञ्चिति बलियो छ, र रेमिट्यान्स तीब्र रूपमा बढिरहेको छ । तर, यति सकारात्मक संकेतहरूका बीच पनि निजी क्षेत्रको लगानी नबढ्नु र कर्जा प्रवाह सुस्त रहनुले नेपालको अर्थतन्त्र …पैसा भए पनि गति नभएकोÚ विरोधाभासमा फसेको देखिएको छ ।
रेमिट्यान्स आप्रवाह साढे १४ खर्ब पुग्यो
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुन महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।
मध्यपूर्वमा जारी द्वन्द्वले विश्व अर्थतन्त्रमा नै कम्पन पैदा भइरहेका बेला मुलुकमा भित्रने रेमिट्यान्स आप्रवाहलाई भने प्रभाव पारेको देखिएन । बढ्दो रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बलियो सहारा दिइरहेको छ । तर, यही रेमिट्यान्सको भरमा टिकेको अर्थतन्त्रमा उत्पादन र लगानी सुस्त रहँदा दीर्घकालीन दिगोपनप्रति प्रश्न भने उठेको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.० प्रतिशतले बृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय -खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.६२ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब आठ करोड पुगेको छ । यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
समक्षिा अवधिमा चालु खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड र शोधनान्तर छ खर्ब ५८ अर्ब ३५ करोड बचतमा रहेको छ । यस्तै निर्यात २०.८ प्रतिशतले र आयात १२.५ प्रतिशतले बढेको छ ।
नेपाल सरकारको खर्च नौ खर्ब २६ अर्ब ५९ करोड र राजस्व परिचालन सात खर्ब ४७ अर्ब २८ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको बृद्धिदर १५.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर ६.७ प्रतिशत रहेको छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैङ्क दर २.६८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४७ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशत रहेको छ ।
