काठमाडौँ । सडक सञ्जालको निर्माणका कारण पदयात्रा मार्ग मासिन थालेको भन्दै यसका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र यूएस एआइडीको सहकार्यमा यहाँ आयोजित “सडक सञ्जालको निर्माणका कारण पदयात्रा पर्यटनमा परेका वा पर्न सक्ने प्रभावहरूको लेखाजोखा तथा वैकल्पिक उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन् ।
सडक सञ्जालको विस्तारले पदयात्रा मार्ग मासिन थालेपछि पर्यटकको आगमन र बसाइ अवधि घटेकोप्रति उनीहरुको चिन्ता व्यक्त रहेको थियो । सडक सञ्जालका कारण अन्नपूर्ण क्षेत्र, धौलागिरि क्षेत्र, मनास्लुलगायतका थुप्रै पुराना र चर्चित पैदल मार्ग मासिन थालेका छन् ।
टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले “सडक सञ्जालको निर्माणका कारण पदयात्रा पर्यटनमा परेका वा पर्न सक्ने प्रभावहरूको लेखाजोखा तथा वैकल्पिक उपायहरु” विषयक अध्यनको प्रतिवेदन प्रस्तुत गर्दै पदयात्रा पर्यटनलाई कसरी सुरक्षित र सुनिश्चित गर्ने भन्ने कुरा चुनौतिपूर्ण भएको बताउनुभयो ।
पदयात्रा मुख्य सडकका कारणले छोपिँदा व्यवसाय र रोजगारीका साथै पर्यटकको अनुभव पनि गुमेको भन्दै उहाँले पर्यटक आउलान र व्यवसाय गरौंला भनेर बसेका व्यवसायीमा अहिले निराशा बढेको बताउनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदीले सडक सञ्जालको निर्माणले बेफाइदामात्रै नभएको भन्दै बाटो जाँदा डिष्टर्ब भएपनि बाटो गइसकेपछि झनै अवसर बढ्ने बताउनुभयो ।
सडक सञ्जाल जाँदैमा अब सकियो भनेर होइन त्यसबाट आउने सम्भावना र अवसरतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
टानका अध्यक्ष सागर पाण्डेले सडकको विकास र यातायातलाई रोक्न नसकिने यथार्थ भएपनि भएका सडकलाई स्तरोन्नती गर्नुको सट्टा आफुखुशी सडकका योजना बनाउने प्रवृत्ति गलत भएको बताउनुभयो ।
पर्यटनविद चेतनाथ कँडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।