काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा तीन अर्ब ७७ करोडले बचतमा रहेको छ ।
समिक्षा अवधिमा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा एक अर्ब ६६ करोडले बचतमा रहेको छ ।
यस्तै पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई पाँच अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब १७ करोड रहेको थियो ।