काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार महिनासम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको बृद्धिदरमा भने संकुचन आएको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ रहेको थियो ।
समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले बृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।