काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवद्र्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
३० औँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस् एसोसिएसनद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको बताउनुभयो ।
व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घचघच्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।
गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई उपप्रधानमन्त्री सिंहले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकारको त्यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यापारमा रहेको कृत्रिम अवरोध हटाइने हो भने अहिलेभन्दा धेरै व्यापार हुनसक्ने विभिन्न अध्ययनले देखाइएकोले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अहिले व्यापारको क्रममा तीन खर्ब रूपियाँ लजिस्टिक लागतको रूपमा ढुवानीको लागि मात्रै पर्ने गरेकोले उपभोक्ताले धेरै मूल्य तिर्नपर्ने अवस्था बनिरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्गो व्यवसायलाई विभिन्न अव्यावहारिक करले दुःख दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाई निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमाबलीमा समयनुकूल परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
नेपालको व्यापार लजिस्टिक लागत २० प्रतिशतभन्दा धेरै रहेकोले यसलाई सरलीकृत गरेर लगात घटाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो । हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ ।