सेयर बजार साढे २७ सयको विन्दुमाथि, कारोबार २२ अर्ब नजिक

काठमाडौँ । निरन्तर उचाई लिएको सेयर बजारले बुधबार ऐतिहासिक रेकर्ड पार गरेको छ । तीन वर्ष पछि सेयर बजारमा कारोबार रकमले २२ अर्ब नजिक पुगेको छ ।     

बुधबार ३३२ कम्पनीको पाँच करोड नौ लाख ६७ हजार ९५१ कित्ता सेयर दुई लाख ३८ हजार २७२ पटक खरिद बिव्रmी हुँदा २१ अर्ब ९१ करोड १५ लाख तीन हजार १६१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा चार अर्ब ६५ करोड रुपियाँले बढी हो । मङ्गलबार ३२९ कम्पनीको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर दुई लाख छ हजार ६४३ पटक खरिद बिव्रmी हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार कारोबारसँगै कित्ता, कारोबार संख्यामा पनि बढोत्तरी आएको छ ।

बुधबार भएको कारोबार रकम तीन वर्षयताको नयाँ रेकर्ड हो । यसअघि २०७८ साउन १५ गते उच्चतम नयाँ रेकर्ड बनेको थियो । सो दिन २१ अर्ब ५३ करोड रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।

परिसूचक साढे २७ सय माथि

बुधबार सेयर बजारमापक नेप्से परिसूचक ६४.२६ अङ्कले उकालो लागेर २७६०.९१ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.६६ अङ्कले उकालो लागेर ४९६.०४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौंथो दिनको नेप्से २.३८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.१९ प्रतिशतले उकालो लागेको छ ।

मङ्गलबार नेप्से ३५.५५ अङ्कले उकालो लागेर २६९६.६५ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अङ्कले उकालो लागेर ४८५.३८ को विन्दुमा पुगेर रोकिएको थियो ।

बुधबार १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेशिभ फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस्तै अन्य ११ स्टकको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यता आत्मनिर्भर लघुवित्तको सेयरमूल्य भने सर्वाधिक ६.५२ प्रतिशतले ओरालो लागेको छ ।

हिमालयन रिको अग्रता

बुधबार पनि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अग्रता कायम रहेको छ । बुधबार ८४ करोड ४९ लाख ९४ हजार ३१७ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । मङ्गलबार पनि ६० करोड १० लाख आठ हजार ७३० रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको थियो ।  माउण्टेन इनर्जी लिमिटेडको ४१ करोड नौ लाख ३६ हजार २२७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको ४० करोड २६ लाख ३८ हजार ६७० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

फाइनान्स र लगानीमा आकर्षण

साताको चौंथो दिन फाइनान्स र लगानीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ । बुधबार फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले उकालो लागेको छ भने लगानी ६.९० प्रतिशतले उकालो लागेको छ । यस्तै अन्य ३.९९ प्रतिशत, विकास बैंक ३.२१ प्रतिशतले उकालो लागेको छ । होटल तथा पर्यटन २.९८ प्रतिशत, व्यापार २.७६ प्रतिशत, जलविद्युत २.११ प्रतिशत र जीवन बीमा २.१० प्रतिशतले उकालो लागेको छ ।

पछिल्लो समय लगातार उकालो लागेको सेयर बजार मौद्रिक नीति सार्वजनिक भएयता झनै उकालो लागिरहेको छ । सेयर बजारमैत्री माहौल बन्दै गर्दा लगानीकर्ताको मनोबल बढिरहेको छ भने बजारमा नयाँ कारोबारीहरुको पनि प्रवेशले कारोबार र परिसूचक लगातार उकालो लागिरहेको लगानीकर्ता बताउँछन् ।


SHARE THIS