तीन हजारमा पुग्यो सेयर बजार, कारोबार ऐतिहासिक विन्दुमा

काठमाडौँ । अन्तत सेयर बजार तीन हजारको विन्दुमा पुगेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि ३० अर्ब नजिक पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । मङ्गलबार सामान्य करेक्शन आएको सेयर बजार बुधबार फेरी उकालो लागेको थियो ।

बिहीबार नेप्से ४३.०५ अङ्कले उकालो लागेर ३०००.८१ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १६.०१ अङ्कले उकालो लागेर ५३५.५१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको नेप्से १.४५ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.०८ प्रतिशतले उकालो लागेको छ । बुधबार नेप्से ३४.२९ अङ्कले उकालो लागेर २९५७.७५ को विन्दुमा पुगेर रोकिएको थियो ।

बिहीबार ३३४ कम्पनीको छ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर तीन लाख ११ हजार ५३६ पटक खरिद बिव्रmी हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा छ अर्ब ५२ करोड रुपियाँले बढी हो ।

अनितम दिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य साढे नौ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

अन्तिम दिन ९१ करोड ३३ लाख २२ हजार २३९ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख ८५ हजार २३७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले उकालो लागेको छ । लगानी उपसमूह २.६९ प्रतिशत, म्युचुअल फण्ड २.२८ प्रतिशतले उकालो लागेको छ । यता फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले ओरालो लागेको छ । अन्य २.३० प्रतिशत, उत्पादन तथा प्रशोधन १.७३ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS