एनआरएनएका अध्यक्षद्धय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्षद्धय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकको नागरिकता प्रदान गर्नुभएको हो । यो सँगै गैरआवासीय नेपालीलाई नागरिकता दिने कार्यक्रमको सुरुवात भएको छ ।

आचार्य र केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । योसँगै अब अन्य गैरआवासीय नेपालीहरुले पनि नागरिकता पाउने बाटो खुलेको छ । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमाबली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
यो नागरिकता पाउनेले नेपालमा राजनीति गर्न, सरकारी पदमा बस्न र मतदानको अधिकार पाउने छैनन् । उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउनेछन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।
संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।
सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उहाँले बताउनुभयो । गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए ।


SHARE THIS