बीमा बजारको नेतृत्वदायी भूमिका खेल्ने राष्ट्रिय बीमा कम्पनीको प्रतिवद्धता

काठमाडौँ । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीको आफ्नो विभिन्न निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधारहरू आर्थिक स्रोत र आधार भएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आर्थिक वर्ष  २०७९÷८० मा कुल २३७.२३ करोड बीमाशुल्क आर्जन भएको जानकारी दिनुभयो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरुको पनि बीमा गरेको बताउनुभयो । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्टिय गौरवको काठमाडौं तराई मधेश फाष्ट टयाक द्रूत्त मार्ग आयोजना, अपर तामाकोशी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरुको दुर्घटना बीमा, राष्टिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरुको पनि दुर्घटना बीमा गरेको उहाँले बताउनुभयो । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बीमा गरेको पनि उहाँले बताउनुभयो ।

हालसम्म नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको उहाँले बताउनुभयो । दीर्घकालीन लगानीका रूपमा मुख्यतय कम्पनीको विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूमा सेयर लगानी रहेको छ । कम्पनीको नबिल बैंक लिमिटेडमा दुई करोड छ लाख ३६ हजार ९८६ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैकमा दुई करोड  २९ लाख ६७ हजार ७९६ कित्ता, नेपाल पुनर्बीमा कम्पनीमा ३३ लाख ८७ हजार ८५० कित्ता, ग्लोबल आईएमई बैंकमा पाँच ५५ हजार ५३१ कित्ता सेयर रहेको छ । यस्तै नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, नेपाल ल्युब आयल लगायतका संस्थामा समेत लगानी रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीको २०८० असार मसान्त सम्ममा वाणिज्य बैंक, विकास बैंक लगायतको मुद्दती निक्षेपमा ६२५ करोडको लगानी रहेको पनि कम्पनीले जनाएको छ ।

देशमा बीमा व्यवसाय स्थापना गरी पुँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा वि.सं. २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि.) का रूपमा स्थापना भई सोही साल फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भएको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो ।

बीमा व्यवसायलाई व्यवस्थित तथा नियमित गर्न बनेको बीमा ऐन, २०४९ को दफा १२ मा “जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग–अलग संस्थाका रूपमा कार्य गर्नुपर्नेछ ।” भन्ने व्यवस्था बमोजिम कम्पनी ऐन २०६३ अन्तगरत रही वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते बीमा समितिबाट निर्जीवन बीमकको इजाजत पत्र प्राप्त गरी २०७१ साल साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।


SHARE THIS