विश्वविद्यालयबाट उत्पादित जनशक्ति नैतीकवान् हुनुपर्छ : उपकुलपति प्रा. डा. लामिछाने




काठमाडौँ, असार ९ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतीकवान् विद्यार्थी उत्पादनतर्फ विश्वविद्यालय केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । बाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति दक्षसँगै इमान्दार र नैतीकवान् हुनुपर्छ । यसै मान्यताका साथ विश्वविद्यालयहरु अगाडि बढ्नुपर्छ ।’

 नेपाल संस्कृत विश्वविद्यालयले विद्यापीठ र गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाई नैतीकवान बनाउन विशेष कक्षाको व्यवस्था गर्ने योजना बनाएको उपप्राध्यापक प्रा.डा. लामिछानेले बताउनुभयो । प्राकशास्त्रबाट आउने विद्यार्थी मात्र नभई गुरुकुलबाट उत्पादन हुने विद्यार्थीहरुलाई पनि विश्वविद्यालयमा भित्र्याउनतर्फ आफूू लागिपरेको बताउनुभयो । पछिल्लो पुस्तामा अध्ययन संस्कार हराउँदै गएको बताउँदै प्रा.डा. लामिछानेले पुस्तकालयसम्म विद्यार्थीलाई ल्याउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

पुस्तकालय व्यवस्थापन तथा सूचना सेवा केन्द्रद्वारा आयोजित तीन महिने पुस्तकालय तथा सूचना विज्ञान सम्बन्धी तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रा.डा. लामिछानेले पुस्तकालयमा कार्यरत जनशक्तिमा निपुणता, शिष्टता र बिनम्रता अनिवार्य रहेको बताउनुभयो । ‘पछिल्लो पुस्तासँग अध्ययन संस्कार हराउँदै गएको छ । विद्यार्थीहरुलाई पुस्तकालयसम्म ल्याउन विशेष योजना बनाउनुपर्छ’, प्रा.डा. लामिछानेले भन्नुभयो, ‘दक्ष जनशक्तिको अभावमा विश्वविद्यालयको पुस्तकालय व्यवस्थित गर्न ससकिएको छैन । पुस्तकालयमा कार्यरत जनशक्तिमा निपुणता, शिष्टता र बिनम्रता अनिवार्य हुन्छ । यो गुण विकास गर्नुहोला ।’

केन्द्रका अध्यक्ष सरोजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, बाल्मीकि विद्यापीठका अंग्रेजी विभाग प्रमुख प्रा. कृष्ण पौडेल, संयुक्त राष्ट्रसंघीय कार्यालयका राजेन्द्रमान बनेपाली, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक लीला न्याइच्याई, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकायका प्रमुख दशरथ मिश्र, नेपाल पुस्तकालय संघका उपाध्यक्ष सुदिप ढकाल, सहभागी गंगा ज्ञवाली, दीव्यलता पोखरेल, चन्द्रकला राईलगायतले बोल्नुभएको थियो । केन्द्रका सदस्य मीना श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष पार्वती नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।



SHARE THIS