कर्जा प्रवाह बृद्धिदरमा संकुचन, निक्षेप परिचालन बढ्दै

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ । यद्यपी अघिल्लो वर्षको तुलनमा भने यस वर्षको बृद्धिदरमा संकुचन आएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० वैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४६.८ प्रतिशतले बढेकोमा २०८० वैशाख मसान्तमा यस्तो दाबी ५१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १४.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.८ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन बढ्दै

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३७० अर्ब ७८ करोड अर्थात ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २३१ अर्ब ३२ करोड अर्थात पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो । यस्तै २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ । २०७९ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह बृद्धिदर घट्दो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५३ अर्ब १७ करोड रुपियाँ अर्थात ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५४८ अर्ब १४ करोड रुपियाँ अर्थात १३.४ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाहको बृद्धिदरमा पनि संकुचन आएको छ । वार्षिक विन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको पाँच प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ । २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९÷८० को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ ।


SHARE THIS