साना उद्योगहरुलाई दिगो बनाउनेतर्फ बागमती प्रदेश सरकारको प्राथमिकता : उद्योग मन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगहरुलाई दिगो बनाउने भन्ने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मङ्गलबार महासंघको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले बागमती  प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रबद्र्धनमा आफू हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उहाँले यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगहरू बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यो क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहनेमा दुई मत नभएको बताउनुभयो ।

बागमती प्रदेश सांसद सोना परियारले महिला पहिला भन्ने कार्यक्रम बागमती प्रदेशले ल्याएको जानकारी दिंदै मुलुकलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्ने साना उद्योगहरु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले बागमती सबैभन्दा धेरै उद्योग र उत्तिकै चुनौति पनि रहेको प्रदेश भएको भन्दै पछिल्लो समय बन्द हुने उद्योगहरु पनि उत्तिकै रहेको बताउनुभयो । साना उद्योग नवीकरणका सम्बन्धमा डुप्लिकेसनको समस्या र धेरै खालका दस्तुर बुझाउनुपर्ने समस्या रहेको उहाँले बताउनुभयो ।

अहिले साना व्यवसायीका लागि राहत खोज्ने र मन्त्रालयले इतिहास बनाउने चरण भएको हुँदा साना व्यवसायीले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले बागमती प्रदेशले लघु, घरेलु तथा साना उद्योेगको विषयमा जानकार व्यक्तिलाई मन्त्रीका रुपमा पाएको भन्दै उहाँको कार्यकालमा यो क्षेत्रले प्राथमिकता पाउने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालको संरचना जस्तै महासंघको पनि देशभर संरचना रहेको भन्दै उहाँले लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादन, संख्या र रोजगारी सिर्जनका सवालमा पनि बागमती प्रदेश अरुभन्दा अब्बल रहेको बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघ बागमती प्रदेश संघका अध्यक्ष तारा चौलागाई, महासंघका केन्द्रिय सदस्यहरु नारायण कार्की, यादव अधिकारी, ज्ञानेन्द्र सिजापतिलगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS