राष्ट्र बैंकले सार्वजनिक ग-यो २०८० सालका लागि विदाको सूची (सूची सहित)

काठमाडौँ । नयाँ वर्ष आउनै लाग्दा नेपाल राष्ट्र बैंकले २०८० सालका लागि सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । आगामी वर्ष बैंकमा ३५ शीर्षकमा विदा हुने राष्ट्र बैंकले बिहीबार प्रकाशित सूचनामा उल्लेख छ । सूचनामा नयाँ वर्षदेखि चैत अन्तिममा हुने घोडेजात्रासम्मको विदा समेटिएको छ ।

बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि)सम्म कुल ४४ दिन परेका छन् । यसमा विभिन्न अवसर तथा पर्वका अवसरमा क्षेत्रगत हिसाबले दिइने बिदा पनि समावेश छन् ।

२०८० सालको दशैँमा नौ दिन घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ । यसैगरी २०८० सालको तिहारमा पाँच दिन बिदा दिइएको छ । तिहारमा लक्ष्मी पूजादेखि बिदा दिइएको छ ।

राष्ट्र बैंकले बिदाका किसिमलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअनुसार ‘क’ पूरा दिनको बिदा र ‘ख’ आधार दिनको बिदा रहेका छन् । वर्षभरिको शनिबारको विदालाई ‘क’मा राखिएको छ भने शुक्रबारको आधा दिनको विदालाई ‘ख’मा राखिएको छ ।

नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म प्रवाह हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २०८० वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ । २०८० कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ ।

राष्ट्र बैंकले २०८० वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ । २०८० कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङसमय हुनेछ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ ।

प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक विदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने राष्ट्र बैंकले जनाएको छ । प्रदेश सरकारले आफ्नो प्रदेशभर लागू हुने गरी छ दिनभन्दा बढी सार्वजनिक विदा घोषणा गरेमा र काठमाडांै उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार वैशाखमा तीन दिन, जेठमा एक दिन, भदौमा तीन दिन, असोजमा पाँच दिन, कात्तिकमा १० दिन, मसिरमा ती दिन, पुसमा चार दिन, माघमा दुई दिन, फागुनमा चार दिन र बाँकी दिन चैतमा बिदा हुनेछ । नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला हुने छ । कतिपय विदा सरकारले घोषणा गरेपछि तत्कालिन समयमा नै निर्धाण गरिने छ ।

सार्वजनिक विदाको दिन पनि नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा बिहान १० देखी १ः३० बजेसम्म खुल्ने छ ।





SHARE THIS