सेयर बजार निरन्तर ओरालो, नेप्से साढे उन्नाइस सयको विन्दुभन्दा तल

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको सेयर बजार साढे उन्नाइस सयको विन्दुभन्दा पनि तल ओर्लेको छ । अघिल्लो साता ओरालै लागेर बन्द भएको बजारले यो साताको शुरुवात पनि ओरालै लागेर गरेको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ३० दशमलव ७७ अंकले ओरालो लागेर एक हजार ९३८ दशमलव २५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर ३६८ दशमलव ७० को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से एक दशमलव ५६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव तीन  प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार पनि नेप्से २६ दशमलव ४७ अंकले ओरालो लागेर एक हजार ९६९ दशमलव शून्य दुईको विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि चार दशमलव ८१ अंकले ओरालो लागेर ३७३ दशमलव ५६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से एक  दशमलव ३३ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव २७ प्रतिशतले ओरालो लागेको थियो ।

आइतबार दिनभर २५६ कम्पनीहरुको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर २६ हजार ४५४ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा पाँच करोड रुपियाँले कमी हो ।

बिहीबार २५६ कम्पनीहरुको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर २८ हजार पाँच सय पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार पनि आठ करोड ४४ लाख १८ हजार ४५२ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर हिमालय डिष्टीलरी शीर्ष स्थानमा पुगेको छ । शिवम् सिमेण्ट्सको पाँच करोड ४८ लाख १९ हजार ५६५ रुपियाँ, एसियन लाइफ इन्स्योरेन्सको तीन करोड ८९ लाख ४१ हजार ४५० रुपियाँ, नबिल बैंकको तीन करोड ४५ लाख आठ हजार ५३७ रुपियाँ, छिमेक लघुवित्त संस्थाको दुई करोड ६२ लाख १३ हजार ५१६ रुपियाँ, एनआइसी एसिया बैंकको दुई करोड ६१ लाख ९२ हजार ४०१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक तीन दशमलव शून्य तीन प्रतिशत ओरालो लागेको पहिलो दिन होटल तथा पर्यटन समूह दुई दशमलव २० प्रतिशत, जलविद्युत दुई दशमलव ११ प्रतिशत र लघुवित्त समूहको परिसूचक दुई दशमलव ३८ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS