सडक दुर्घटनाको न्यूनीकरणका लागि सबैको सामुहिक प्रयास जरुरी

काठमाडौँ । सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेकोतफ ध्यानाकर्षण गराउँदै सरोकारवालाहरुले यसको न्यूनीकरणका लागि सबैको सामुहिक प्रयास जरुरी भएको बताएका छन् ।

साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) र नेपाल सडक सुरक्षा समाजले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको “नेपालमा सडक सुरक्षाको अवस्था र चुनौति” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सडक सुरक्षाका विषयविज्ञ सरोज प्रधानले विश्वमा प्रत्येक वर्ष साढे १३ लाख मानिसलाई सडक दुर्घटनाबाट गुमाइरहेका जानकारी दिंदै नेपाल विश्वमै बढी सडक दुर्घटना पर्नेको सूचीमा रहेको बताउनुभयो ।

काठमाडौंबाट पथलैयासम्मको सवारीबाट यात्रा गर्दा एक दुईवटा कहीँ न कहीँ गाडी ठोकिएको, लडेको केही न केही भएको देखिने उदाहरण दिंदै उहाँले भीरबाट गाडी खस्ने, बंगलादेशबाट गोताखोर मगाउने र खोज्ने कुरा हाम्रा लागि सामान्य दृश्य बनेको बताउनुभयो ।

“यस्तो अवस्थामा हामी प्रविधि र क्षमतायुक्त छैनौं । त्यस्तो दुर्घटनास्थलमा कसरी जाने, कसरी आकस्मिक रेस्क्यु गर्ने हाम्रो क्षमता पनि छैन र प्रविधि पनि छैन । जसका कारण दुर्घटनामा परेर बच्न सक्ने मानिसले पनि ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।”

सडक दुर्घटनाबाटै सन २०२२ मा २४ हजार ५३७ सडक दुर्घटना भए भने दुई हजार ८८३ मानिसले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्याका ट्राफिक कार्यालयका डीआइजी प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले कोभिडको कारण आयातमा कमी आएपनि दुर्घटनामा बढिनै रहेको जानकारी दिंदै भन्नुभयो – “पछिल्लो समय हामीले जसरी काम गरिरहेका छौं त्यो काम गर्ने वातावरण भइरह्यो भने सात प्रतिशतले दुर्घटनालाई घटाउछौं भन्ने हाम्रो प्रक्षेपण रहेको छ ।”

यो वर्ष ३३ हजार ७८७ मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई, ५१ लागुपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउनेलाई, तीब्र गतिमा २४ हजार १६१, लेन अनुशासनमा १७ हजार २१७, अव्यवस्थित पार्किङमा ६४ हजार, नम्बर प्लेट नदेखिने नौ हजार २२८ लाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाको प्रमुख कारण तीब्र गति भएको कारण स्पिड डिटेक्सन सात वटा ठाउँमा सञ्चालनमा ल्याइएको छ बताउँदै उहाँले ४७ वटा ठाउँमा मापसे परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।

साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) का कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले टाफिक नियमको पालनामा हेलचेक्रयाइका कुरा, कानुनको कार्यान्वयन प्रभावकारी रुपमा नहुने कुरा, सडकको अवस्था, अनियन्त्रित शहरी विकास, नगरिक सचेतनाको अभावलगायतका कुराले गर्दा धेरै सडक दुर्घटना हुने गरेको बताउनुभयो ।

नेपाल सडक सुरक्षा समाजका सचिव सरोज खनालले सडक दुर्घटना हुने मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको बताउनुभयो ।

कार्यक्रममा साप नेपालका अध्यक्ष गीता भट्टराई, ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम वानियाँ, नाडाका सचिव विक्रम सिंघानिया, ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामलखन शाह, वीएनवी अस्पताका डा.सतिस वडुवाललगायतले बोल्नुभएको थियो ।


SHARE THIS