अर्थतन्त्रको रक्तसञ्चारको रुपमा रहेको बैंकिङ सेवालाई भयरहित बनाउन माग

काठमाडौँ । पछिल्लो समय ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेकोतर्फ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकिङ सेवा जस्तो संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न सिबिफिनले नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसञ्चारको रुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिबिफिनले अपिल गरेको छ ।


SHARE THIS