राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भन्यो - ''ग्राहकको पहिचान हुन नसके खाता नखोल्नु''

काठमाडौँ  । अब बैङ्क तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैङ्कलाई निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । ग्राहकको पहिचान हुन नसकेको अवस्थामा संस्थाले आवश्यक ठानेमा शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदन वित्तीय जानकारी एकाइमा पेस गर्न पनि निर्देशिकामा भनिएको छ ।

इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ ।

नेपाल राष्ट्र बैङ्क वा अन्य निकायले खाता रोक्का/फुकुवा गरेका व्यक्तिको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्धतिको आधारका रूपमा लिनुपर्नेसमेत निर्देशिकामा उल्लेख छ ।


SHARE THIS