सेयर धितोमा कर्जातर्फ बैंकहरुको आकर्षण, लगानीकर्तालाई फाइदै फाइदा

भेषराज बेल्बासे

काठमाडौं । आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटीज प्रा.लिका निर्देशक रामचन्द्र भट्टराईले फोन उठाउनासाथ भन्नुभयो ‘हस्त नमस्कार’ । फोन उठाउनासाथ विदा माग्नुभयो नि भन्ने जिज्ञासामा भट्टराईले भन्नुभयो – ‘होइन होइन एक जना बैंकका साथीलाई विदा गर्ने र तपाईको फोन उठाउने काम एकैपटक भयो ।’

अचेल ब्रोकरको कार्यालयमा बैंकका कर्मचारीको अरु दिनभन्दा बढी नै चहलपहल हुने गर्दछ । एउटासँग भेटघाट ग¥यो, विदा ग¥यो, अनि अर्कोलाई स्वागत ग¥यो । अझ यसो भनौं ब्रोकर र बैंकका कर्मचारीको सम्बन्ध डाक्टर र एम आर (मार्केटिङ रिप्रजेन्टेटिभ) को जस्तै बनेको छ ।

बैंकरले ब्रोकरलाई भेटिरहनुपर्ने, ब्रोकरको कारोबार नहुने दिन मात्रै फुर्सद हुने वा कारोबार समयपछिको समय मिलाउनुपर्ने । सेयर धितोमा कर्जा लिन चाहने लगानीकर्तालाई पठाइदिनुप¥यो भन्ने आग्रहका साथ पुग्ने बैंकरलाई शुक्रबार अरु दिन भन्दा धेरै हुने गरेको भट्टराई बताउनुहुन्छ । कारोबार हुने दिनमा व्यस्त भइन्छ त्यसैले भेटघाटको लागि शुक्रबार तोकियो ।

त्यसो त भट्टराईको मोबाइलमा आजभोली लगानीकर्ता र साथीभाईको मात्रै फोन आउँदैन । त्यो भन्दा धेरै विभिन्न बैंकका कर्मचारीको फोन पनि बारम्बार आउँछ । फोन गर्नुको एउटै कारण हुन्छ । सेयर धितोमा कर्जा लिन चाहने लगानीकर्तालाई पठाइदिनुप¥यो भन्ने आग्रह ।

एउटै बैंकबाट दुई वा धेरैले फोन गरे भने पनि अचम्म नमाने हुन्छ । किनकी बैंकले पनि कर्मचारीहरुलाई तार्गेट प्रदान गरिएको हुन्छ । यसरी फोन गर्ने र भेटघाट गर्नेमा वाणिज्य र विकास बैंकका ब्राञ्च म्यानेजर, लोन डिपार्टमेन्ट र अन्य कर्मचारी पनि हुन सक्छन् । कोरोनाले गर्दा अरु आर्थिक क्रियाकलाप ठप्प भएका बेला बैंकहरुको जोड पनि सेयर धितो कर्जा भएको भट्टराईको भनाई छ ।

पछिल्लो समयमा सेयरमा बैंकको लगानी विस्तार र केन्द्रित भएको भन्दै उहाँले सेयर धितोमा कर्जाको ब्याजदर एकल अंकमा आउनु र बैंकहरुले खोजी खोजी यस्तो कर्जा प्रदान गर्नुले बजारले गति लिएको बताउनुहुन्छ ।

मुलुकमा कोरोना कहरका कारण कर्जा प्रवाह सुस्त भएका कारण बैंकहरुले सेयर धितोमा कर्जा सस्तो र सुलभ दरमा फर्माइरहेका छन् । सेयर धितोमा राखेर सहज रुपमा कर्जा लिन सकिने भएकाले लगानीकर्तालाई पनि नयाँ सेयर खरिद गर्न सुविधा भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था सेयर खरीद कर्जातर्फ आकर्षित देखिएका छन् र अघिकांशले दिइरहेका पनि छन् ।

बैंकिङ प्रणालीमा करिब दुई खर्ब रुपियाँको हाराहारीमा तरलता भएतापनि बैंकहरुले कर्जा लगानी बढाउन नसक्दा कर्जाका ग्राहकहरु तानातानको अवस्था छ । तर लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेकाले बैंकको ध्यान सेयर धितो कर्जामा केन्द्रित छ । तुलनात्मक रूपमा यसमा जोखिम कम हुने र असुलीमा सहजता भएकाले बैंकहरु त्यसतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय सेयर बजार सुधारको मुख्य कारण भनेको सस्तो र सुलभ दरको सेयर धितो कर्जा भएको बताउनुहुन्छ सेयर लगानीकर्ता तारा फुल्लेल ।

कोरोनाले आम्दानीमा असर पु¥याए पनि लगानीकर्ताले बैंकमार्फत सेयर धितो कर्जा लिएर लगानी गरिरहेका छन् । लामो समयपछि खुलेको सेयर बजार विस्तारै गति लिने क्रममा रहेको छ ।



फराकिलो कर्जाको सीमा

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमालाई बढाएर ७० प्रतिशत पु¥याएपछि लगानीकर्तालाई फाइदा भएको छ । जुन अघि यस्तो सीमा ६५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा पाँच प्रतिशतले बढाएको छ भने सेयर धितोको मूल्याङ्कनलाई समेत हेरफेर गरेको छ । पहिले १८० दिनको औसत मूल्यलाई हाल १२० दिन पु¥याइएको छ ।

यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा पहिलेभन्दा बढी पाएका छन् भने सेयर बजार सुधारमा सहयोग पुगेको लगानीकर्ता तारा फुल्लेल बताउनुहुन्छ । यद्यपी बोर्डले सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्याङ्कनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको थियो ।

दुईदेखि तीन दिन

कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको दुईदेखि तीन कार्य दिन भित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्छन् । बैंकहरुले कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवम् सहज रूपमा कर्जा प्रदान गर्ने समेत जनाएका छन् । नेपाल बैंकका प्रवक्ता अधिकारी सामान्यतया तीन दिनभित्र यो कर्जा उपलब्ध गराइने जानकारी दिंदै भन्नुहुन्छ – ‘यसको लागि समय लाग्दैन । ऋणीले डिम्याट खाताको स्टेटमेण्ट दिन्छन् हामीलाई स्वीकार्य छ कि छैन हेर्छौं प्रायः हामी ए क्लासको वाणिज्य बैंक, बीमा कम्पनी, होटल, हाइड्रोपावरलगायतको मापदण्ड बनाएका छौं । हामीकहाँ लिस्टेड नभएकोलाई मार्केट राम्रो भएपनि हामी गर्दैनौं । सेयर रोक्का राख्न लगाउँछौं ऋणीले नै रोक्का गरेको पत्र ल्याएपछि प्रक्रिया अगाडि बढ्छ ।’

यसरी लिनुस

तपाइसँग कुनै कम्पनीको सेयर छ र त्यसबाट कर्जा लिएर अझै सेयर खरिद गर्न चाहनुहुन्छ भने आफ्नो सेयर धितोमा राखेर कर्जा लिन सक्नुहुन्छ । कुनै पनि बैंकबाट प्रवाह हुने यस्तो कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेञ्ज लिमीटेडबाट प्रकाशित पछिल्लो १२० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य र सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म सेयर धितो कर्जा प्रवाह गरिने व्यवस्था छ ।

पहिले त सेयर प्रमाणपत्र लगेर बैंकमा राख्नुपथ्र्यो भने अहिले अनलाईन भएका कारण त्यसो गरिरहनुपर्दैन । सेयर कर्जा लिन व्यक्तिगत उद्देश्य भएकाले पनि पाइन्छ । अर्थात सेयर धितो राखेर अन्य क्षेत्रमा उपयोग गर्नेलाई ५० लाखको सीमा हुन्छ । विशेषगरी सेयरकै कारोबार गर्ने व्यक्ति या संस्थाका हकमा ५० लाखको सीमा छैन ।

बैंकमा इस्यु म्यानेजरले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सेयर ब्रोकरमार्फत सेयर डिम्याटमार्फत रोक्का राख्छन् । सेयर रोक्का राखिसकेपछि राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम जति प्रतिशत कभरेज राख्न पर्ने हो त्यति राखेर बाँकी ऋण दिइने नेपाल बैंकका प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

कहिलेदेखि शुरु भयो

२०५० साल जेठमा नेपाल धितोपत्र बोर्ड र पुष २९ गते स्टक एक्सचेञ्ज स्थापना भएपछि सेयर कारोबार शुरु भएसँगै २०५१ सालदेखि फाट्टफुट्ट सेयर कर्जा शुरु भएको स्मरण गर्दै बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्की विगत सम्झँदै भन्नुहुन्छ – ‘२०६३÷६४ मा ट्रेडिङ अटोमेसन शुरु ग¥यौं । पहिला ७० देखि ८० लाख कारोबार हुन्थ्यो । ट्रेडिङ अटोमेसनले कारोबार २० देखि ३० करोड पनि हुन थाल्यो । त्यसपछि सेयर बजारमा बैंककोे कर्जा बढी प्रयोग हुन थाल्यो ।’ हुँदाहुँदै यो नै सेयर बजारमा मुख्य कारक बन्न थालेको भन्दै उहाँले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सीइओको जिम्मेवारी समेत सम्हाल्नुभएका कार्की भन्नुहुन्छ ‘अहिले त ब्याजदर पनि सस्तो छ । सात प्रतिशतसम्म बंैकले सेयर कर्जा दिन थालेका छन् । अहिले त बैंकरले लिन आउ भनेरै बोलाउन थालेका छन् ।’

गोरखापत्र दैनिकबाट


SHARE THIS