सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको मुद्रास्फीति बाह्र प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौँ । सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि चालू आर्थिक वर्ष मुद्रास्फीति सीमाभन्दा धेरै माथि पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को प्रथम त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाअनुसार मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखिएको हो ।

चालू आर्थिक वर्ष उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा ८ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य (मेडियन) अपेक्षित मुद्रास्फीति क्रमश: १० र १२ प्रतिशत पुग्ने देखिएको छ ।

अपेक्षित मुद्रास्फीति सर्वेक्षण चालू आर्थिक वर्षको असोज २३ देखि असोज २९ गतेसम्म ५७ सहरका ६० बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर सम्पन्न गरिएको राष्ट्र बैङ्कले जनाएको छ । सर्वेक्षणमा प्रस्तुत परिणाम दुई हजार ४० जनाको प्रतिक्रियामा आधारित रहेको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस वर्षको सर्वेक्षणमा ८९९ जना थपिएका छन् ।

सर्वेक्षणमा सहभागी ८६ दशमलव ६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९५ दशमलव ७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । 

खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षित मुद्रास्फीति सर्वेक्षणले देखाएको छ ।

खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्य वृद्धि हुने देखिएको छ । राष्ट्र बैङ्कले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेकोसमेत मुद्रास्फीति सर्वेक्षणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुको ७.६८ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रमा क्रमश: ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

चालू आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्य वृद्धि क्रमश: १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य वृद्धि १९.२७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमश: १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ । यस्तै असोज महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ ।


SHARE THIS