सेयरधनीहरुलाई १३.६ प्रतिशत लाभांश दिँदै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाले यस्तो प्रस्तावलाई पारित गरेको हो ।

साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनश सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको हो ।

दुबै बैंक गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ स्वीकृत गरेको छ । साथै गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रक्रिया पुरा भइसकेको छ ।

साधारणसभाले बैकको अधिकृत पु‘जी २५ अर्ब रुपियाँलाई बृद्धि गरी ५० अर्ब रुपियाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपियाँ र कर पछिको मुनाफा चार अर्ब ९५ करोड रुपियाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपियाँ पुग्ने बैंकले जनाएको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित बृद्धि गर्दै जाने बताउनुभयो । अध्यक्ष ढकालले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी तर्फ गत वर्ष भन्दा एक अर्ब १५ करोड रुपियाँले बृद्धि भएको  बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले बृद्धि भई चार अर्ब ९५ करोड रुपियाँ कायम भएको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपियाँ भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै दुई खर्ब ७३ अर्ब रुपियाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा तीन अन्तराष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा तीन हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको जनाएको छ ।


SHARE THIS