मर्जरमा जाँदै साना किसान र आरएमडीसी लघुवित्त, चुक्तापुँजी झण्डै तीन अर्ब पुग्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुबै संस्थाको छिट्टै साधारणसभा गरी पुससम्म एकीकृत साधारणसभा हुने भएको छ । 

एकीकृत साधारणसभापछि संस्थाको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने भएको छ । संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहने तथा एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पनि साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहने बताइएको छ । संस्थाको सञ्चालक समितिमा दुबै तर्फका तीन/तीन जना रहने तथा सञ्चालक समितिमा दुबै तर्फबाट सर्वसाधारण समूहबाट एकएक जना सञ्चालक समितिमा रहने भएका छन् । मर्जरका लागि सेयर आदान प्रदान अनुपात १००:८७ हुने तथा साना किसानको सेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुने मर्जर कमिटीले जनाएको छ ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत एकीकृत संस्थाको डेपुटी सिइओ हुने तथा आपसी सहमतिमा कर्मचारी व्यवस्थापन हुने बताइएको छ ।

मर्जरपश्चात एक सबल र सक्षम लघुवित्त भई उन्नतस्तरको वित्तीय सेवा प्रदान गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई अझ प्रभावकारी बनाइ लक्षित वर्गको सेवामा खरो प्रतिष्पर्धामा उत्रन सहज हुने साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले बताउनुभयो ।

मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुने छ । जसमा साना किसानको ३० अर्ब ७६ करोड र आरएमडीसीको १२ अर्ब ४६ करोड छ ।

साना किसानको ३० अर्ब दुई करोड र आरएमडीसीको ११ अर्ब ८४ करोड ऋण लगानीमा रहेकोमा अब ४१ अर्ब ८६ हुने भएको छ ।

साना किसानको चार अर्ब १६ करोड र आरएमडीसीको तीन अर्ब ३३ करोड कुल पुँजी रहेकोमा अब सात अर्ब ५० करोेड पुग्ने भएको छ । आरएमडीसीको एक अर्ब २४ करोड र साना किसानको एक अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी दुई अर्ब ८० करोड हुने छ ।

संस्थाको शाखा कार्यालय अब १३ पुग्नेछन् । साना किसानको ११ वटा र आरएमडीसीको दुई वटा शाखा छन् । दुबै संस्थाले साझेदार संस्थालाई ऋण प्रदान गर्छन् । साना किसानको एक हजार ३०९ वटा र आरएमडीसीका ३१५ वटा साझेदार संस्था रहेकोमा अब एक हजार ६२४ वटा हुनेछन् ।

मर्जरका लागि राजधानीमा एक कार्यक्रमका बीच साना किसानका तर्फबाट उमेश लम्साल र आरएमडीसीका तर्फबाट भुपेश छट्कुलीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पाठकले दुबै संस्थाले छवी छोडेको भन्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा दिन सहज हुने बताउनुभयो । मर्जर गरेर सरकारको आशा पूरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशीले मर्जरले सिनर्जी इफेक्ट पर्ने बताउनुभयो  । मर्जर भएर सुदृढ भई गुणस्तरीय सेवा दिन सहज हुने जोशीले बताउनुभयो ।

अर्थ मन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोखरेलले उपयुक्त समयमा मर्जर गर्न सम्झौता  गरेकोमा खुशी व्यक्त गर्नुभयो । सरकारले पाँच खर्बको लघुवित्त कोष सञ्चालन गर्न कार्यविधि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । साना किसान र आरएमडीसी मर्जर हुँदा उक्त कोष कार्यान्वयन गर्न सहज हुने उहाँले बताउनुभयो ।


SHARE THIS