काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलले उद्योग मन्त्री गौरी कुमारीलाई भेट गरी साना तथा घरेलु उद्योग क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयमा भएको भेटघाटका क्रममा साना उद्योगीहरूले भोग्दै आएका विभिन्न चुनौतीहरूबारे जानकारी गराएको थियो ।
स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने महासंघका अध्यक्ष सिँहको बताउनुभयो । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
जवाफमा उद्योग मन्त्री गौरी कुमारीले महासंघले उठाएका विषयहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले आवश्यक नीतिगत सुधार र सम्बन्धित निकायसँग समन्वय गरी साना उद्योगको प्रवद्र्धनका लागि पहल गरिने आश्वासन दिनुभयो ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, महासंघका सल्लाहकार वासु गिरी, उपाध्यक्षद्घय शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतको उपस्थिति रहेको थियो ।
