लघुबीमा व्यवसायका लागि सात कम्पनीलाई अनुमति

काठमाडौँ । नेपालमा लघुबीमा व्यवसायका लागि सात वटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरणका लागि छनौट गरेको हो । प्राधिकरणले आइतबार तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीका प्रस्तावलाई छनौट गर्दै लाइसेन्सका अगाडि बढाएको हो ।

लघु जीवन बीमा व्यवसाय तर्फ प्रदेश १ विराटनगरमा रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेड, कणाली प्रदेश सुर्खेतमा रहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गण्डकी प्रदेश कास्कीमा रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्सका लागि अनुमति पाएका छन् ।

त्यस्तै, लघु निर्जिवन बीमा व्यवसायतर्फ लुम्बिनी प्रदेश बुटवलमा रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, बागमति प्रदेश भरतपुरमा रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, मधेश प्रदेश धनुषामा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र सुदुरपश्चिम प्रदेश धनगढीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्सका लागि अनुमति पाएका छन् ।

प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो ।

लघुबीमा कम्पनीको लाइेसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएकोमा माग संख्या अनुसार सातवटा कम्पनी छानिएको प्राधिकरणले जनाएको छ ।


SHARE THIS