राष्ट्रिय गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात प्रतिशत हुने अनुमान

गीता पौडेल

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको हो  भने गत आर्थिक वर्षको संशोधित अनुमान तीन खर्ब १ अर्ब रहेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस प्रदेशले सात प्रतिशत हिस्सा ओगटेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पनि यस प्रदेशको योगदान सात प्रतिशत नै हुने अनुमान गरिएको नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५२ अर्ब रुपियाँ हुने अनुमान गरिएकोमा ३६.९ प्रतिशत योगदान सहित सबैभन्दा बढी बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ भने सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदान सहित कर्णाली प्रदेशको करिब एक खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ ।

बागमती प्रदेश अगाडि

अघिल्लो आर्थिक वर्षजस्तै आर्थिक वर्ष २०७८/७९ मा पनि बागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पुर्‍याउने प्रदेशहरुमा क्रमश: प्रदेश १, लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।

अध्यनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर (उपभोक्ता मूल्यमा) ५.८ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेश प्रदेशको बृद्धिदर सबैभन्दा कम ४.८ प्रदेश १ मधेश प्रदेश वागमती प्रदेश गण्डकी प्रदेश लुम्बीनी प्रदेश कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश चार प्रतिशत रहने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशको बृद्धिदर ४.९ रहने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा बागमती प्रदेशको बृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत तथा गण्डकी प्रदेशमा सबैभन्दा कम बृद्धिदर ३.७ प्रतिशत रहेको थियो भने कर्णाली प्रदेशको बृद्धिदर ४.३ र सुदूरपश्चिम प्रदेशको बृद्धिदर ४.२ प्रतिशत रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी मधेश प्रदेशको ३४.३ प्रतिशत, उद्योग क्षेत्रको योगदान सबैभन्दा बढी गण्डकी प्रदेशको १८.४ र सेवा क्षेत्रको योगदान सबैभन्दा बढी बागमती प्रदेशको ७६.७ प्रतिशत रहने अनुमान रहेको छ । प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: ३३.५ प्रतिशत, १४.६ प्रतिशत र ५१.८ प्रतिशत रहने अनुमान सो अध्ययनमा छ ।

प्रादेशिक सम्भावना

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला खाद्य सुरक्षामा आत्मनिर्भर भएकाले सो क्षेत्रमा कृषिको व्यावसायिकरण, आधुनिकिकरण र यान्त्रिकीकरण गरी उत्पादकत्व बृद्धि गरी समग्र प्रदेशको खाद्य सुरक्षालाई बृद्धि गर्न सकिने सम्भावना रहेको अध्ययनमा उल्लेख छ । साथै, अन्य जिल्लाहरुमा खाद्य सुरक्षाका लागि कृषिको व्यावसायिकरण, आधुनिकिकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्न सकिने सम्भावना पनि सो क्षत्रमा रहेको छ ।

प्रदेशका निर्माणाधीन विभिन्न जलविद्युत्आयोजनाहरुको निर्माण दु्रत गतिमा सम्पन्न भएमा विद्युतीय पहुँच अभिबृद्धि भई विद्युत्मा आधारीत उद्योग विस्तार गर्न सकिने सम्भावना रहेको सो क्षेत्रमा वैकल्पिक उर्जा (सौर्य उर्जा, वायोग्यास आदि) को प्रवद्र्धन, विकास र विस्तार गर्न सकिने सम्भावना पनि रहेको सो अध्ययनमा उल्लेख छ ।

सुदूरपश्चिमका चुनौती

कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र व्यवसायीकरणका लागि आवश्यक पुँजी, ज्ञान, दक्ष जनशक्ति र ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारहरुको अभाव सो क्षेत्रको चुनौति भएको अध्ययनमा उल्लेख छ । गरिबी, भौगोलिक विकटता, न्यून साक्षरता र न्यून भौतिक पूर्वाधारको विकास तथा कृषि र वनजन्य उपजहरुको उत्पादनका लागि विभिन्न कार्यक्रमहरु सरकारबाट सञ्चालन भएतापनि उक्त उत्पादनहरुको सहज संकलन, भण्डारण र बजारीकरणको अभाव रहेको सो अध्ययनले देखाएको छ ।

यस्तै मौसमी रुपमा भारत जाने श्रमिकहरुलाई प्रदेशमै स्वरोजगार तथा रोजगारको अवसर प्रदान गर्ने र भौगोलिक विकटता तथा न्यून भौतिक पूर्वाधारका कारणले पहाडी तथा हिमाली जिल्लाहरुमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधा पुर्‍याउन कठिन रहेको अध्ययनले देखाएको छ ।


SHARE THIS