सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २६ प्रतिशतले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २६ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७८ असार मसान्तको तुलनामा २६ प्रतिशतले बृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) का अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा १५ अर्ब २२ करोड ५४ लाख रुपियाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४७.६३ प्रतिशतले बृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८.७६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०.००३ प्रतिशत सूर्तिमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.१९ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येकैलाली जिल्लाको अंश ६५.५४ प्रतिशत, कञ्चनपुरको १९.८० प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमश: ३.८१ प्रतिशत, २.४६ प्रतिशत, २.४१ प्रतिशत, १.९५ प्रतिशत, १.४९ प्रतिशत, १.४८ प्रतिशत र १.०६ प्रतिशत रहेको छ ।

अध्ययनका अनुसार २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७८ असार मसान्तको तुलनामा ४०.२४ प्रतिशतले बृद्धि भएर १० अर्ब ५६ करोड रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा सात अर्ब ५३ करोड कर्जा प्रवाह भएको थियो ।

त्यसैगरी २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको पुनरकर्जा २०७८ असार मसान्तको तुलनामा १९.७२ प्रतिशतले बृद्धि भई पाँच अर्ब ३३ करोड ४३ लाख रुपियाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस शीर्षकमा चार अर्ब ४५ करोड ५५ लाख कर्जा प्रवाह भएको थियो ।


SHARE THIS