आगामी भदौ २३ र २४ गते हुने चौंथो पूर्वाधार सम्मेलन

काठमाडौं । चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन रआयोजना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुन लागेको हो ।

नेपाल उद्योग परिसंघले सोमबार पत्रकार सम्मेलनमार्फत उच्च अङ्कको आर्थिक बृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यकलाई आत्मसाथ पूर्वाधार सम्मेलनको आयोजना गरिएको जनाएको छ । दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघको रहँदै आएको छ ।

सम्मेलनको उद्देश्यहरूमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पूर्वाधार सम्मेलनले पुनर्निर्माण सम्बन्धी जनचेतना बढाएको बताउनुभयो । पूर्वाधारसँग सम्बन्धी विषयमा आम जनता र सर्वसाधारणको चासो व्यापक बढेको भन्दै उहाँले भन्नुभयो तर, लगानी भने बढ्न सकेको छैन । अबको चौथो सम्मेलनले लगानीलाई समेत आकर्षित गर्नेगरि तयारीमा जुटेका छौँ ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिएको आयोजकले जनाएको छ । साथै सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबिच गहन रूपमा छलफल हुने जनाइएको छ ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव वीरेन्द्र सिंहले निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधरसंग सम्बन्धि सम्मेलनमा सरकारको सहकार्य सधै सहने प्रतिबद्धता जनाउनुभयो । सरकारले निजी क्षेत्रसँगको सहकार्यका पूर्वाधारका क्षेत्रमा नयाँ नयाँ कुराहरू सिक्ने मौका पाएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको विशिष्ट अतिथिहरूमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, भारतस्थित अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतमा शान्ति अडानी, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू रहने आयोजकले जनाएको छ ।

त्यस्तै, सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एसियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरूको प्रस्तुति हुनेछ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट छ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन ‘पूर्वाधारमा द्रुतगति लगानी’ शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो । सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ मा केन्द्रित थियो ।


SHARE THIS