कारोबार रकममा झण्डै ११ अर्ब रुपियाँले कमी, पूँजीकरण एक खर्ब पाँच अर्ब ४६ करोडले घट्यो

काठमाडौं । साताको पहिलो दिन सुधारिए पनि दोस्रो दिनदेखि लगातार ओरालो लागेको यो साताको सेयर बजारमा झण्डै ११ अर्ब रुपियाँले कारोबार रकममा कमी आएको छ ।

यो साता सेयर बजारमा १२ अर्ब चार करोड २० लाख रुपियाँ बराबरको तीन करोड २१ लाख नौ हजार ४५३ कित्ता धितोपत्र खरीदबिक्री भएको छ ।

जनै पूर्णिमाको शुक्रबार सार्वजनिक विदा परेकाले पनि गत साताको तुलनामा यो साता दिन एक दिन कम कारोबार भएको हो । गत साताको तुलनामा यो साता कारोबार रकम १० अर्ब ९५ करोड ६० लाख ७१ हजार  रुपियाँ बराबरको दुई करोड ३९ लाख ८० हजार १०७ कित्ता कम धितोपत्र कारोबार भएको हो ।

गत साता छ कारोबार दिनमा २२ अर्ब ९९ करोड ८१ लाख रुपियाँ बराबरको पाँच करोड ४१ लाख ९९ हजार ५६० कित्ता सेयर खरीदविक्री भएको थियो । औसतमा यो साता एक अर्ब ४२ करोड ४६ लाख बराबरको २९ लाख ८९ हजार ३६९ कित्ता कम धितोपत्र खरीदबिक्री भएको हो ।

गत साताको तुलनामा यो साता लगानीकर्ताहरूको सम्पत्तिको कुल मूल्य अर्थात कुल बजार पूँजीकरण एक खर्ब पाँच अर्ब ४६ करोड ५८ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख रहेको कुल बजार पूँजीकरण यो साता २९ खर्ब १० अर्ब ४२ करोड ८१ लख रुपियाँमा झरेको हो ।

कारोबार रकमसँगै यो साता बजारका सबै सूचकहरू ओरालो लागेका छन् । गत साताको अन्तिम कारोबार दिन २११३.५५ विन्दुमा रहेको नेप्से परिसूचक ७५.६३ अंक घटेर २०३७.९२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ४०६.४५ विन्दुदेखि १४.७८ अंक घटेर ३९१.६७ विन्दु कायम भएको छ ।

यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक पहिलो कारोबार दिन १०.२७ अंकले बढेको थियो भने त्यसपछिका चार कारोबार दिन निरन्तर घटेको छ । बजार निरन्तर घट्दा सूचीकृत कम्पनीहरूको सेयरमूल्यमा पनि कमि आएको छ ।

यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू गत साताको तुलनामा घटेका छन् । यी मध्ये पनि सर्वाधिक अन्य समूहको उपसूचक ७.०१ प्रतिशत घटेको छ । उपसूचक घटेको आधारमा यो साता अन्य समूहका लगानीकर्तांहरूले सर्वाधिक गुमाएको देखिन्छ ।

अन्य समूहसँगै यो साता वित्त समूहको ५.८१ प्रतिशत, विकास बैंक समूहको ४.९१ प्रतिशत, जलविद्युत समूहको ४.८१ प्रतिशत, लगानी समूहको ३.९६ प्रतिशत, निर्जीवन बीमा समूहको ३.५५ प्रतिशत, लघुवित्त समूहको ३.४४ प्रतिशत, जीवन बीमा समूहको ३.०९ प्रतिशतले उपसूचक घटेको छ ।


त्यसैगरी व्यापारिक समूहको ३.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९० प्रतिशत, बैंकिङ्ग समूहको २.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.१५ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.८१ प्रतिशत उपसूचक घटेको छ ।


SHARE THIS