हस्तकला प्रवद्र्धन र विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ / बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले हस्तकला प्रवद्र्धन र उद्यमशीलता विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल हस्तकला महासंघले राजधानीमा आयोजना गरेको हस्तकला प्रर्वद्धन तथा उद्यमशीलता विकास  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका  हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो । साथै देशमा यस किसिमका उद्योगबाट रोजगारीको प्रचुर सम्भावना भएकोले प्रदेश सरकार यी उद्योग व्यवसायहरुको प्रवद्र्धनमा संवेदनशील रहेको र यसमा उपत्यका भित्रका तीन वटै घरेलु तथा साना उद्योग कार्यालयहरुलाई सक्रिय भूमिका खेल्न पनि उहाँले निर्देशन दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान, देशमा विदेशी मुद्रा भित्रयाउन खेलेको भूमिका, रोजगारी, सिर्जना गरेको बताउनुभयो । बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना सम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी बागमती प्रदेश सरकार समक्ष प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक निजी साझेदारीमा स्थापना हुन लागेको सार्क हस्तकला विकास केन्द्रको भवन तयार भई सकेको हुँदा उक्त केन्द्र जति सक्दो चाँडो सञ्चालन गर्न सहयोग गरी दिनको लागि पनि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष विशेष आग्रह गर्नुभएको थियो ।

बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल हस्तकला महासंघको सहकार्यमा आयोजित अन्तरक्रियामा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र बागमती प्रदेश सांसद तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले पनि हस्तकला क्षेत्रको विकासमा नेपाल हस्तकला महासंघको भूमिका महत्वपूर्ण भएकोले यस क्षेत्रको समष्टिगत विकासको लागि प्रदेश सरकारले महासंघबाट सञ्चालन गरिने प्रवद्र्धनमुखी कार्यक्रमहरु सञ्चालनमा सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्व बाबु पुडासैनीले गोष्ठीमा प्रस्तुत भएका सुझावहरु र नीतिगत तथा प्रकृयागत समस्याहरुको सम्बोधन गर्न प्रदेश सरकारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले जिल्ला तथा वस्तुगत संघहरुको प्रतिनिधिमूलक छाता संस्था नेपाल हस्तकला महासंघसंग प्रदेश सरकारले सहकार्य गर्दा यसबाट यस क्षेत्रको प्रवद्र्धनका लागि परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तुत गोष्ठीमा नेपाल हस्तकला महासंघका जिल्ला संघ तथा वस्तुगत संघका अध्यक्षहरुले आफ्नो संघसंग सम्बन्धित उद्योग व्यवसायका प्रवद्र्धनको लागि आ–आफ्नो क्षेत्रका समस्या र सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।


SHARE THIS