रोकियो सेयर बजारको सुधार, कारोबार पनि घट्यो

काठमाडौँ । लगातार सुधारिएर २२ सयको नजिक पुगेको सेयर बजारले फेरी गिरावटको बाटो पछ्याएको छ केही दिनदेखिको सेयर बजारको सुधार रोकिएको हो । साताको तेस्रो दिन नेप्से झिनो अंकले ओरालो लाग्यो भने कारोबार रकममा पनि गिरावट आएको छ ।

मङ्गलबार सेयर बजार मापक नेप्से २.७६ अंकले ओरालो लागेर २१९३.४८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । समग्रमा तेस्रो दिनको नेप्से ०.१३ प्रतिशतले ओरालो लागेको छ ।

साताको दोस्रो दिनको सेयर बजार झिनो अंकले उकालो लागेको थियो । परिसूचकमा झिनो सुधार आए पनि कारोबार रकमले भने साढे चार अर्ब नाघेको थियो ।

सोमबार सेयरबजार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर २१९६.२५ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १.९४ अंकले उकालो लागेर ४२१.१४ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से ०.०५ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स भने ०.४६ प्रतिशतले उकालो लागेको थियो ।

साताको पहिलो दिनको नेप्से ५४.५८ अङ्कले उकालो लागेर २१९५.१० को विन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स पनि ९.७२ अङ्कले उकालो लागेर ४१९.२० को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा आइतबारको नेप्से २.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.३७ प्रतिशतले उकालो लागेको थियो ।

मङ्गलबार २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता सेयर ५० हजार ३६५ पटक खरिदबिक्री हुँदा तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३८ करोड रुपियाँले कमी हो ।

सोमबार २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता सेयर ६७ हजार २०५ पटक खरिदबिक्री हुँदा चार अर्ब ६७ करोड सात लाख ९८ हजार २७२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

केही दिनदेखि लगातार सबैभन्दा धेरै सेयर कारोबार हुँदै आएको शिवम सिमेण्टले मङ्गलबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपियाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको नौ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्सको नौ करोड २४ लाख र गुडविल फाइनान्सको नौ करोड चार लाख रुपियाँको सेयर कारोबार भएको छ ।

मङ्गलबार कारोबारमा आएका १३ उपसमूह मध्ये छ वटाको सूचक उकालो लागेको छ भने बाँकी सात वटाको सूचक ओरालो लागेको छ । फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक एक प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यता अन्य उपसमूहको सूचक सर्वाधिक १.०४ प्रतिशतले ओरालो लागेको छ भने लगानी, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको सूचक भने एक प्रतिशतभन्दा कमले ओरालो लागेको छ ।


SHARE THIS