सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । पछिल्लो समय उतारचढावमा रहेको सेयर बजारमा पाचौं दिनमा फेरी दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको नेप्से बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । पाचौं दिनको कारोबार रकममा पनि गिरावट आएको छ ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १६.६० अंकले ओरालो लागेर २०२७.३२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.४२ अंकले ओरालो लागेर ३८५.४९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा बिहीबारको नेप्से ०.८१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको थियो । नेप्से परिसुचक  १३.३३ अंकले बढेर २०४३.९२ अंकमा पुगेको थियो ।

बिहीबार दिनभर २२९ कम्पनीहरुको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३७ करोड रुपियाँले कमी हो ।

बुधबार २२८ कम्पनीहरुको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपियाँको कारोबार भएको थियो ।

बिहीबार सात करोड ६५ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कारोबार रकमका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा पुगेको छ । त्यसैगरी, अरुण काबेली र शिवम् सिमेन्ट्सको छ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिहीबार ४६ वटा कम्पनीको मात्र मूल्य उकालो लागेको छ । समिट लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेको छ भने लिबर्टी इनर्जीको पाँच प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ३.६४ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक बाँकी सबै उपसमूहहरुको परिसूचक ओरालो लागेको छ ।  म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशतले उकालो लागेको बिहीबार अन्य समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ ।  विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस्तै बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र लगानी उपसमूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन् ।


SHARE THIS