जेठ अन्तिम साता चौंथो साकोस शिखर सम्मेलन हुने

काठमाडौँ । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ भन्ने विषयमा आगामी जेठ अन्तिम साता चौंथो साकोस शिखर सम्मेलन हुने भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले जेठ २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनमा ५० जिल्लाका साढे छ सय सहकारीकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित आयोजना हुन लागेको सम्मेलनमा बचत अभियानमा डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ, भन्ने विषयमा केन्द्रित नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बताउनुभयो ।

दुई दिवसीय गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट गरि नौ वटा सत्र सञ्चालन हुने कार्यतालिका रहेको बताइएको छ ।

थाईल्याण्ड, भारत र नेपालका विभिन्न विषय विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गोष्ठीले नेपालको साकोस अभियानको आगामी मार्गचित्र पहिचान गर्ने नेफ्स्कूनले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्रप्रसाद ढकालले साकोस अभियानमा भएका उपलब्धिहरूको आदानप्रदान गर्न साझा मञ्चको विकास गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


SHARE THIS