५० करोड रूपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ बिक्री खुला

काठमाडौँ । नेपाल सरकारको तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ५० करोड रूपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ बिक्री खुला भएको छ ।

आन्तरिक ऋण उठाउन प्रयोग गरिने महत्वपूर्ण उपकरण वैदेशिक रोजगार बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । असार १३ गते उक्त बचतपत्र निष्काशन गरिने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै १२.५० प्रतिशत ब्याजदर पाइने वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला वार्षिक ब्याजदर र पाँच वर्षे समयावधि रहेको बचतपत्र बिक्री खुला भएको जनाएको छ ।

बचतपत्रमा घटीमा १० हजार रूपियाँ र बढीमा १० हजार रूपियाँले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका छ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने बचतपत्रको ब्याज प्रत्येक छ/छ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८८ असार १३ गते हुने उल्लेख छ ।

इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि राष्ट्र बैंकको वेवसाइटमार्फत र वेबसाइटबाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन दिन सकिने उल्लेख सूचनामा उल्लेख छ ।

आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र पलएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूबाट ब्याज भुक्तानी लिन सकिने छ ।

वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यत: अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि पाँच वर्षको छ ।


SHARE THIS