सेयर बजार निरन्तर ओरालो, पाँच कारोबार दिनमा नेप्से सूचक १२६ अंकले ओरालो

काठमाडौँ । ओरालो लाग्ने क्रममा रहेको सेयर बजारले साताको चौंथो दिन पनि गिरावटलाई नै निरन्तरता दिंदा परिसूचक २११२ को विन्दुमा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमान्तिसक समीक्षा सार्वजनिक गरेकै दिनदेखि लगातार ओरालो लागेको सेयर बजारले साताको चौंथो दिन पनि गिरावटलाई नै निरन्तरता दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनदेखि उकालो लागेको सेयर बजार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि फेरी ओरालो लागेको थियो ।

लगानीकर्ताको सेयर बजारमा ४/१२ नीति, आयातमा सतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा पुरा नभएपछि सेयर बजार ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत दरहरु यथावत राख्दै आवश्यकता अनुसार ब्याजदर चलाउने नीति सार्वजनिक परेपछि साताको अनितम दिन बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

त्यसयता आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पनि सेयर बजारले ओरालो लाग्ने क्रमलाई नै निरन्तरता दिएको छ । मौद्रिक नीतिको समिक्षा यता पाँच कारोबार दिनमा नेप्से सूचक १२६ अंकले ओरालो लागेको छ ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १८.२६ अंकले ओरालो लाग्दा सेयर बजार २११२.४७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.४१ अंकले ओरालो लागेर ४१०.६६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौंथो दिनको नेप्से ०.८६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार पनि नेप्से परिसूचक घटेको थियो । नेप्से परिसूचक ७.२१ अंक घटेर २१३०.७१ विन्दुमा झरेको थियो भने  सेन्सेटिभ इण्डेक्स पनि १.१७ अंक घटेको थियो ।

बिहीबार २२७ कम्पनीहरुको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर २१ हजार ८३३ पटक खरिदबिक्री हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा नौ करोड रुपियाँले बढी हो ।

बुधबार २२७ स्टकको २३ हजार १३४ पटकको कारोबारमा एक अर्ब सात करोड ८५ लाख रुपियाँ बराबरको ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार १२ करोड १२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा माउन्टेन हाइड्रो शीर्ष स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको छ करोड ५४ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बलेफि हाइड्रोपावरको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको बिहीबार माउन्टेन हाइड्रो, उपकार लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य चार प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ६.४७ प्रतिशत घटेको छ भने उन्नती सहकार्य, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी १२ वटाको परिसूचक ओरालो लागेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशतले उकालो लागेको बिहीबार व्यापार उपसमूहको सूचक सर्वाधिक २.६ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै निर्जीवन बीमा र अन्य समूहको सूचक पनि १.५६ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS