सेयर बजार १८ सयको विन्दुमा आइपुग्यो, कारोबार बढ्यो

काठमाडौं । लगातार ओरालो बाटोमा लागेको सेयर बजार १८ सयको विन्दुमा आइपुगेको छ । साताको दोस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.३१ अंकले ओरालो लागेर १८८४.८१ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अंकले ओरालो लागेर ३६६.१९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.०५ प्रतिशतले ओरालो लागेको छ । नेप्से ओरालो लागेपनि सोमबारको कारोबारमा अघिल्लो दिनको तुलनामा बढोत्तरी आएको छ ।

निरन्तर ओरालो लागिरहेको सेयर बजारले पहिलो दिन नै १९ सयको विन्दु पछ्याएको थियो । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ३७.२७ अंकले ओरालो लागेर १९३४.११ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले ओरालो लागेर ३७३.८५ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा पहिलो दिनको सेयर बजार १.८९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.९१ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबार दिनभर २३० कम्पनीहरुको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर ३६ हजार ४६४ पटक खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड छ लाख १७१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६२ करोड रुपियाँले बढी हो ।

आइतबार दिनभर २२३ कम्पनीहरुको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर २७ हजार छ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार ११ करोड ८३ लाख २० हजार रुपियाँ बराबरको संस्थापक सेयर कारोबार भएर कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा पुगेको छ । केही दिनदेखि लगातार शीर्ष स्थानमा रहेको  नेपाल टेलिकम सोमबार दोस्रो स्थानमा पुगेको छ । टेलिकमको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

दोस्रो दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य कम्पनीहरुको मूल्य बृद्धिदर भने दुई प्रतिशतभन्दा कम रहेको छ । तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने कालिका पावर र रिभर फल्स पावरको सेयरमूल्य नौ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२८ प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.१३ प्रतिशत घटेको छ । वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी घटेको छ ।

लगानीकर्ताले भेटे प्रचण्ड

सेयर बजार सुधारका लागि माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताले सोमबार खुमलटार पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सेयर बजार सुधार संघर्ष समितिको अगुवाईमा गएको लगानीकर्ताको टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

लगानीकर्ता एसपि चौलागाई, रोहन कार्की, पवित्रा ज्ञावलीलगायतका लगानीकर्ताको टोलीले प्रचण्ड निवासमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

लगानीकर्तासँगको भेटमा प्रचण्डले अर्थमन्त्री र अर्थसचिवलाई भेटेर तत्काल समस्या समाधानको लागि कदम चाल्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ । पूँजी बजारको समस्या समाधानको लागि प्रधानमन्त्री तथा गठबन्धन दलका नेताहरुसँग समेत छलफल गरेर कदम चाल्ने बताएको पनि समितिले जनाएको छ ।


SHARE THIS