सवारीसाधनमा अन्त:शुल्क र भन्सार महशुल बृद्धिले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो: नाडा

काठमाडौं । नाडा अटोमोबाइलस् एसोसिएसन नेपालले पेट्रोलिम पदार्थबाट चल्ने तथा विद्युतीय सवारीसाधनमा अन्त:शुल्क र भन्सार महशुलमा भारी बृद्धिले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आफ्नो धारणा प्रस्तुत गर्दै व्यवसाय सञ्चालन गर्न कठिन हुने बताएका हो ।

‘सरकारले आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिने उद्देश्य अनुरुप सवारी साधन एसेम्बल उद्योगलगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने जुन नीति ल्याएको छ, त्यो ज्यादै सराहनीय छ’ नाडाले विज्ञप्ती मार्फत भनेको छ ।

बजेटले १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधन तथा २०० सिसि भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा जुन किसिमले अन्त:शुल्क तथा भन्सार महशुलमा बृद्धि गरिएकोमा नाडाले अपत्ति जनाएको छ ।

‘उच्च किलोवाट क्षमता भएका विद्युतिय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीहरुलाई आफनो व्यवसाय सञ्चालन गर्न कठीन मात्र हुने नभई आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिएकोले यसमा लाग्ने महशुलमा केही सुधारको आवश्यकता देखिन्छ’ नाडाले भन्यो ।

त्यसैगरी, यस बजेटले सवारी साधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा प्यान कार्ड लिएको हुनु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था सवारी साधन खरिद गर्न चाहनेहरुका लागि मात्र गरिनु न्यायोचित नदेखिने नाडाको भनाइ छ ।


SHARE THIS