जेठमा पनि बैंकहरुको ब्याजदर नबढ्ने

काठमाडौँ । जेठ महिनामा पनि बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनले  ब्याजदर नबढाउने सहमति गरेको हो ।

बैंक वित्तिय संस्थाले गत चैतदेखि ब्याजदरलाई भद्र सहमति गरेर स्थिर राख्दै आएका छन् । बैंकहरुले गत फागुनदेखि नै निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत कायम गरेका छन् । त्यसैगरी विकास बैंकहरुले ११.५५ र फाइनान्स कम्पनीले ११.७१ कायम नै राखेका छन् ।

जेठ महिनाका लागि पनि ब्याजदर नबढाउन उपयुक्त हुने प्रस्ताव गरेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । एसोसिएसनले गरेको प्रस्तावमा बैंकहरु सहमत भएको भन्दै उहाँले ब्याजदर बढाएर पनि निक्षेप नबढेको निष्कर्ष निकाल्दै प्रस्तावमा बैंकरहरु सहमत भएको बताउनुभयो ।

बैंकहरुका नयाँ निक्षेप नआएकाले कर्जा बढ्ने अवस्था पनि नभएपछि एसोसिएसनले सबैको हीतका लागि ब्याजदर यथावत नै राखेको हो ।

केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने भन्दै ब्याजदर बद्धिको सामनाका लागि तयार रहन पनि आग्रह गर्नुभएको थियो । अझै पनि प्रणालीमा तरलता अभाव भएको भन्दै उहाँले अझै ब्याजदर बढ्ने देखिएकाले त्यसका लागि सबै तयार हुन आग्रह गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंकले बैंकदर बढाउने सम्भावन भएपनि बैंकहरुले राष्ट्र बैंकले निर्णय नगर्दासम्मका लागि ब्याजदर नबढाउने सहमति गरेका हुन् । राष्ट्र बैंकले ब्याजदर बढाएको खण्डमा एसोसिएसनले पनि राष्ट्र बैंकको निर्णय लगत्तै त्यसमा छलफल गरेर आवश्यक निर्णय लिने गरी अहिले ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।


SHARE THIS