नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्ने

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । नीतिगत अस्थिरताको कारण नेपालमा चारपाङ्ग्रे गाडीको एसेम्बल गर्ने वा नगर्ने अन्यौलमा रहेको व्यवसायीहरुको गुुनासो थियो ।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्थिर नीति आए नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने भन्दै व्यवसायीहरु यतिबेला सरकारकै मुख हेरेर बसिरहको बताउनुुभयो ।  अटोमोबाइल्स कम्पनीहरु उद्योग स्थापना गर्न तयार रहेको भन्दै उहाँले सरकारले नीतिगत रुपमा स्पष्ट र स्थिर हुनुपर्नेमा जोड दिनुुभयो । सरकारले सहजीकरण गरे नेपालमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने उहाँको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत व्यवस्था गर्नु भन्दा पहिले सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने बताउनुुभयो । पछिल्लो समय नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको एसेम्बल हुन लागेकोमा उहाँले खुशी व्यक्त गर्नुुभयो ।

अब नेपालमा गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नुपर्ने बताउँदै उहाँले नेपालमै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताउनुुभयो ।

नाडाका उपाध्यक्ष करण चौधरीले अटोव्यवसायीलाई सहयोग गर्न सरकारसँग आग्रह गर्दै अटो उद्योग स्थापना गर्ने कुरा सकारात्मक भए पनि तत्काल सरकारले नीतिगत रुपमा स्पष्ट नभइ नसकिने बताउनुुभयो ।

नाडाले साधारणसभापछि नेतृत्वका लागि बिहीबार निर्वाचन पनि गर्दैछ । आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । आगामी नेतृत्वका लागि ध्रुव थापा र करण चौधरी नेतृत्वका लागि आ–आफ्नो प्यानल सार्वजनिक गरेर चुनावी मैदानमा हुुनुुहुुन्छ ।


SHARE THIS